धादिङ-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी र महोवदेसी क्षेत्रका खाद्यान्न सप्लार्यससहित तीन वटा पसलहरु कारबाहीमा परेका छन् । मापदण्ड विपरित संचालनमा रहेका र यस अघिका निर्देशन पालना नगरी अटेर गरिरहेका खाद्यान्न पसलहरुलाई जिल्ला अनुगमन टोलीले कारबाही गरेको हो ।
अनुगमन टोलीले गल्छी बजारको छाङ्गदेवी इन्टरप्राइजेजलाई २० हजार, थाक्रे गाउँपालिका–६ को महादेववेसीको सिता इन्टरप्राइजेजलाई २० हजार र महादेववेसीकै आदित्य फलफुल तथा किराना स्टोरलाई ५ हजार जरिवानासहित कारबाही गरिएको छ । यस अघिका निर्देशन पालना नगर्ने र मापदण्ड अनुसार नभएका सप्लार्यस तथा पसलहरुलाई जरिवानासहित कारबाही गरिएको अनुमगन समितिका संयोजक एवंम् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
पटक पटकको अनुमगनमा सुध्रिन सल्लाह सुझाव दिएपनि नसुध्रिएकाहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ क बमोजिम जरिवाना गरिएको पराजुलीले जानकारी दिए । गल्छीबजारको छाङ्गदेवी इन्टरप्राइजेजको युरिया मलको गोदाममा अनुगमन टोलीले सिल गरेको छ । गोदाममा बिलभर्पाई बिनाको ३० बोरा मल भेटिएकोले सिल गरेर एक साताभित्र विलभर्पाईसहित सम्पर्कमा आउन अनुगमन टोलीले निर्देशन दिएको छ ।
अबैध मल हुनसक्ने आशंकामा खरिद विलसहित एक साताभित्र सम्पर्कमा आउन अनुगमन समितिका सदस्य एवंम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मेघनाथ गौतमले बताए । सिता इन्टरप्राइजेजमा भने ठूलो परिमाणमा म्याद सकिएको मधिराजन्य पदार्थ र खाद्यान्न भेटिएको कारबाही गरिएको उनले बताए । बजार अनुगमन टोलीले खाद्यन्नसँगै माछा पसलहरुको पनि अनुगमन गरिरहेको छ ।