धादिङ– मलेखुमा संचालित मझौला तथा साना होटलका संचालक र कर्मचारीहरुलाई लक्षित गरी तीन दिनको होटल व्यवस्थापन तालिम दिइएको छ । होटल एसोशियसन नेपाल (हान) धादिङले होटल संचालक र कर्मचारीहरुलाई सर्भिस र किचनमा गर्नुपर्ने सरसफाईबारे सिकाइएको हो ।
होटलमा आउने पाउनको स्वागत सत्कारसंगै सेवा प्रवाहलाई गुणस्तरीय बनाउने उद्देश्यले तालिम दिइएको हान धादिङका अध्यक्ष राजाराम सिलवालले जानकारी दिए । तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै वेनिघाट गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले राज्यले तयार गरेको मापदण्ड पूरा गरेर व्यवसाय संचालन गर्न आवश्यक रहेको बताए । होटल व्यवसायमा पर्यटन तान्नको लागि व्यवसायी र कर्मचारीको व्यवहार सभ्य बनाउँदै सफा र गुणस्तरयुक्त खानमा ध्यान दिनुपर्ने उनले बताए ।
व्यवसायलाई मर्यादित र गुणस्तरीय बनाउनको लागि व्यवसायी र सरकारका प्रतिनिधिबीच समन्वय गरेर अघि बढ्न आवश्यक रहेको पनि श्रेष्ठको भनाई छ । व्यवसाय प्रवर्द्धनको निम्ति स्थानीय सरकार सधै सकारात्मक रहेको पनि उनले बताए ।
हानका केन्द्रिय महासचिव साजन शाक्यले होटल व्यवसायले देशको अर्थतन्त्रमा सहयोग गर्न सक्ने बताए । पर्यटन व्यवसाय फस्टाउन पनि होटलको सेवा सुविधा चुस्त हुनुपर्ने भएकोले सबै होटल व्यवसायीहरुले आफ्नो सेवा र गुणस्तरमा ध्यान दिनुपर्ने शाक्यले बताए ।
तालिममा ३५ जना सहभागी थिए । तालिममा सहभागीहरुले व्यवहारिक ज्ञान तालिम पत्र लिईदै यो आधारभुत तालिमले मात्रै नपुग्ने भएकोले यो भन्दा धेरै दिनको प्रयोगतात्मक सिप सहितकोे विशेष तालिमको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।