हाङचउ — नेपाली करातेकै कान्छी खेलाडीमा पर्छिन् १९ वर्षीया एरिका गुरुङ । नेपालका राष्ट्रिय कराते खेलाडीमध्ये सबैभन्दा कम अनुभवी पनि हुन्, उनी । १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टिममा उनी पर्दा धेरैलाई लागेको थियो, यिनमा केही त छ । खेलकुदको भाषामा भन्दा ‘एक्स फ्याक्टर’ ।
यिनै खेलाडीले शनिबार नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो सफलतामध्ये एक उपलब्धि दिलाइन् । उनले महिला ६८ केजीमाथि तौल समूहको कुमितेमा देशलाई ऐतिहासिक रजत पदक दिलाएकी हुन् । नेपाली करातेले आफ्नो चार दशकको इतिहासमा हात पारेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । लिपिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको फाइनलमा काजकिस्तानकी बेरुल्त्सेभा सोफियासँग पराजित भइन् ।
एसियाली खेलकुदमा दक्षिण एसियाली देशले जितेको पनि यो नै पहिलो करातेको रजत हो । यसपल्टको एसियाली खेलकुदमा करातेतर्फ दक्षिण एसियाली देशले जितेको यो नै पहिलो पदक हो । एसियाली खेलकुदको इतिहासमा करातेबाट जितेको पहिलो रजत तथा समग्रमा चौथो पदक हो । यसअघि नेपालले करातेबाट एसियाली खेलकुदमा तीन कांस्य जितेको छ ।