
काठमाडौं – जब कोही देशको सिमाना बाहिर जान्छ, उसले राष्ट्रियताको प्रतिनिधित्व गरेको हुन्छ । अक्टोबर २६ मा जापानको टोकियोमा हुने मिस इन्टरनेसनलमा प्रसिद्धि शाहसँग निजी नाम हुनेछैन । स्टेजमा उनलाई ‘नेपाल’ नामले बोलाइनेछ ।
‘विदेशमा मैले गल्ती गर्दा पनि नेपालकै नाम आउने भयो । विदेशमा म प्रसिद्धि शाह हुँदिन । त्यहाँ बोलाउने नाम नेपाल हुन्छ । भिन्न खाले दबाब हुने रहेछ,’ उनी भन्छिन् ।
यो दबाब र आत्मविश्वासबीच मिस नेपाल इन्टरनेसनल प्रसिद्धिले अन्तर्राष्ट्रिय संस्करणको तयारी गरिरहेकी छिन् । अक्टोबर २६ मा जापानले ६१ औं मिस इन्टरनेसनल २०२३ को फिनालेको आतिथ्यता गर्दैछ । जसमा सहभागी हुन प्रसिद्धि मंगलबार टोकियोतर्फ प्रस्थान गर्दैछिन् ।
फिनालेको उल्टो गणनाबीच फिट एण्ड फाइन राख्न प्रसिद्धिले शारीरिक र मानसिक तयारी गरेकी छन् । यसका लागि मुम्बई पुगिन्, जहाँ उनले पेजेन्टको कोर्स पनि पढिन् । स्टाइलिङ, हेयर, मेकअप, स्पिच, वाक र पेजेन्टमा आफूलाई प्रस्तुत गर्ने शैली सिकिन् । पेजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा पनि सिकिन् ।