
काठमाडौ – माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबार देखि सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरे पश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाडँफाँड गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।
यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।