उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि कानुनी शासन तथा राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् । मधेस प्रदेशको समसामयिक सुरक्षाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङका क्रममा उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले धार्मिक एवं सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महँगी रोक्नसमेत निर्देशन दिए ।
महोत्तरीको बर्दिबासमा सम्पन्न गृह प्रशासन र सुरक्षा अधिकारीबीचको अन्तरक्रियात्मक बैठकमा गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिए ।