काठमाडौ – बजारमा खाने पकाउने एलपी ग्यासको मूल्य घटेको दुई साता वितिसक्दा पनि बिक्रेताले पुरानो मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् ।
प्रतिसिलिण्डर ग्यासमा ३५ रुपैयाँ घटाए पनि बजारमा अधिकांश बिक्रेताले पुरानो मूल्य एक हजार ४ सय ७० रुपैयाँ लिने गरेको पाइएको छ । मूल्य बढेको ग्यास बजारमा आइनपुगेको भन्दै ब्यापारीले पुरानो मूल्यमा बेच्ने गरेको छ । नेपाल आयल निगमले भारतमा ग्यासको मूल्य घटेकाले एक अगस्तमा प्रतिग्यास सिलिण्डरमा ३५ रुपैयाँ घटाइएको थियो ।
उपत्यकामा रहेका अधिकांश ग्यास बिक्रेताले अहिले पुरानै मूल्यमा ग्यास बेचिरहेका छन् ।
थापाथलीकी शर्मिला थापा डिपोमा ग्यास लिन जाँदा बिक्रेताले नयाँ ग्यास बजारमा आएको छैन भन्दै पुरानो मूल्य लिने गरेको बताइन् ।
ग्यासमा मूल्य घटेको छ भन्दा बिक्रेताले घटेको मूल्यमा बिक्री नगरी रित्तै फर्काउने गरेको उनले बताइन् । ग्यासको मूल्य बढ्दा ब्यापारीले तत्काल मूल्य बढाउने र घट्दा नघटाउनाले आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको छ ।
राजधानी दैनिकबाट