धादिङ– शेयर सदस्यहरुलाई दूध उत्पादन वृद्धि गर्न उत्प्रेरणा दिने कार्यक्रम ल्याउने योजना बनाउदै सामुदायिक साना किसान कृषि सहकारी संस्था लि. नलाङको १६औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
धादिङको सिद्दलेक गाउँपालिका-२ मा रहेको सहकारीको साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश साना किसान कृषि सहकारी संघका अध्यक्ष डिल्लीप्रसाद पाठकले दिगो सहश्राव्दी विकास लक्ष्य पूरा गर्न सहकारी संस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा साना किसान कृषि सहकारीहरुले ठूलो योगदान गरेको बताए । सबै घर परिवारका कम्तिमा एक जना सदस्य साना किसान कृषि सहकारीको सेयर सदस्य बनाउन संचालकहरुसंग आग्रह पनि गरे ।
संस्थाले गत आर्थिक वर्षमा १ करोड २५ लाख ५ हजार ९ सय २१ नाफा गर्न सफल भएको सहकारी संस्थाका अध्यक्ष तिलक सिंखडाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा ५ करोड २७ लाख ४२ हजार ६ सय ८४ रुपैयाँ आम्दानी गरेको संस्थाले ४ करोड २ लाख ३६ हजार ७ सय ६२ रुपैयाँ खर्च गरेर बाकी नाफा कमाएको उनले जानकारी दिए ।
संस्थामा अहिले २ हजार १ सय ११ जना सदस्यहरु छन् । जसमध्ये १ हजार ४ सय ४ जना शेयर सदस्यहरु छन् भने ७ सय ७ जना बाल सदस्य रहेका छन् । त्यसैगरि १५ वटा अन्तरसमुह र २ सय २५ वटा समूहहरु क्रियाशील छन् ।
२ करोड ५५ लाख ४० हजार ७ सय कूल शेयरपूँजी रहेको सहकारीले १ करोड ९८ लाख ७८ हजार ४ सय ७८ रुपैंया साधारण जगेडाकोषमा जम्मा गरेको छ । कूल आन्तरिक पूँजी पन्ध्र करोड बयालिस लाख एक हजार नौ सय सन्ताउन्न रुपैया रहेको छ ।
संस्थाले शेयर सदस्यहरुलाई २९ करोड ३८ लाख ३ हजार ८ सय ९ रुपैंया ऋण लगानी गरेको छ । अधिकांश कृषि क्षेत्रमै ऋण लगानी गरिएको सिंखडाले जानकारी दिए ।
साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट व्यवासायिक किसान, सामुदायिक विद्यालयतर्फबाट एसईई उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, सेयर सदस्यहरु मध्येबाट उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट आर्थिक कारोबार गर्ने अन्तरसमुहहरुलाई नगदसहित सम्मान गरेको छ । असल ऋणीहरुलाई पनि सम्मान गरिएको सहकारी संस्थाकी प्रबन्धक अम्बिका न्यौपाने सिलवालले बताइन् ।
साविक नलाङ गाविसलाई मुख्य कार्यक्षेत्र बनाएर १६ वर्षअघि स्थापना भएको सहकारीले साना किसानहरुको आय आर्जन वृद्धि र कृषिको व्यवसायीकरणमा काम गरिरहेको छ ।