
काठमाण्डौ – नेपाल र चीनबीच बिजुली आदान–प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको हो । पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ । नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ ।
चीनतर्फ आवश्यक अध्ययन अगाडि बढाउने समझदारी भएको छ । यसअघि नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो । नेपालले दुई फरक प्रकृतिका चार सय केभी र दुई सय २० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो । लगानीका सम्बन्धमा पनि आवश्यक तयारी गरिएको थियो ।