Wed. Nov 27th, 2024

एमाले बागमतीमा अध्यक्षका आकांक्षीको लर्को

नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा आकांक्षीको लर्को लागेको छ। एमालेले बागमतीमा असोज ८ र ९ गते पहिलो अधिवेशन गर्दै छ।

पदेन पोलिट्ब्युरो सदस्य र कार्यकारी भूमिका हुने भएपछि केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्षको दौडमा छन्।

अहिलेसम्म प्रदेश अध्यक्षको दौडमा तीन जना केन्द्रीय सदस्य देखिएका छन्।

रामेछापका कैलाश ढुंगेल, दोलखाकी रचना खड्का र मकवापुरका कृष्ण दाहाल प्रदेश अध्यक्षको दौडमा छन्।

पार्टी पंक्तिले विश्वास गरे नेतृत्वका लागि तयार रहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन्।

‘जिम्मेवारी पाउँदा काम नगर्ने भन्ने प्रश्नै आउँदैन। प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ,’ खड्काले सेतोपाटीसँग भनिन्, ‘भूगोललाई आधार बनाएर काम गर्दा मूल्यांकनको एउटा आधार बन्छ।’

बागमती प्रदेशमा एमाले अत्यन्तै कमजोर बनेकाले उठाउनकै निम्ति अध्यक्षको आकांक्षा राखेको कृष्ण दाहालले बताए। गत निर्वाचनमा बागमती प्रदेशभरि एमालेले प्रतिनिधि सभामा ४ स्थानमात्र जितेको थियो।

बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं-९, ललितपुर-२, काभ्रेपलाञ्चोक-२, मकवानपुर-२ जितेको थियो।

‘बागमती प्रदेशमा पार्टी कमजोर छ। कमजोर भएको पार्टीलाई उठाउने आत्मबलसहित मैले उम्मेदवारी दिने तयारी गरेको हुँ,’ उनले भने, ‘झन्डै १५ वर्ष मकवानपुरको पार्टी कामको नेतृत्व गरेको अनुभव पनि छ। साथीहरूले विश्वास गरेर अध्यक्षमा उम्मेदवारी दिनुस् भनिराख्नु भएको छ।’

मकवानपुर-२ बाट प्रतिनिधि सभामा निर्वाचित र नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताए।

‘अधिवेशनमा नेतृत्वको आकांक्षा राख्नु स्वाभाविकै हो। तर, बागमती प्रदेशमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन हुनुपर्छ भन्ने आम प्रतिनिधिको चाहना रहेको देखिन्छ,’ प्रदेश संगठन कमिटीको सहसचिवसमेत रहेका उनले भने, ‘मैले पनि चुनाव हुने सम्भावना देखेको छैन।’

नेतृत्वको रस्साकस्सीमा बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वसांसद चितवनका कृष्णभक्त पोखरेल, अहिलेका प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डे, सचिव विजय सुवेदी पनि देखिएका छन्।

About The Author

अन्य समाचारहरु: