
धादिङ– गाई जात्राको दिनदेखि धादिङबेसीका नेवार समुदायले शुरु गरेको लाखे जात्राको मंगलबार विधिवत रुपमा विसर्जन गरिएको छ ।
झिंगु नेवाः समाज धादिङको अगुवाईमा शुरु भएको जात्राको मंगलबार लाखे मारेर समापन गरिएको हो । नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिविम्बको रुपमा परिचित लाखे नाच परिचित छ ।

विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, सांस्कृतिक र जातीय पहिचान हो । लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ ।
लाखे भनेको ‘भूत´ हो । कंशले विजय गरेर शासन चलाइरहेको बखत कृष्णले मार्ने गर्छ, जुन नेवार समुदायको संस्कृति हो । कंशले घण्टको आवाज सुन्नै चाहँदैन । भगवानहरूको नाम लिनै चाहँदैन । लाखेनाच नेवार समुदायको संस्कार हो तर, पर्व होइन । लाखे बन्ने व्यक्ति नेवार मात्र हुने गरेकोमा हाल अन्य समुदायका पनि हुने गरेका छन् ।

लाखेलाई कंस अथवा राक्षसको रुपमा लिने भएकोले लाखे बन्दा लगाउने मुकुट राक्षसको रुप मानिन्छ, जुन देख्दा एकदमै डर लाग्छ । लाखेले लगाउने चोलो र जामा निकै आकर्षक देखिन्छ । तर मुकुटले डर फैलाउँछ ।
नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायको कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्याउने उद्देश्यले जात्राको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताए । जात्राको अवधिभर पियानो, किबोर्ड, धा बाजा बजाएर लाखे र टाकटुके नचाउदै धादिङबेशी बजार परिक्रमा परिएको थियो । युवा पुस्ता र स–साना बालबालिकाको सक्रिय सहभागिताले थप हौसला थपेको उनले बताए ।

विर्सजन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद ग्रहण गरिएको छ । अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुन समेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् । लाखे निकाल्ने दिनदेखि लाखे विसर्जनका विचमा गाइजात्रा, रोपाइ जात्रा, इन्द्र जात्रा लगायतका पर्वहरु मनाइएको हो ।

मंगलबार एक कार्यक्रमका विचे जात्रालाई सफल बनाउन सहयोग गर्ने सबैलाई झिंगु नेवाः समाज धादिङले धन्यवाद सहित नेवारी भोजन गराएका छन् । संचार संस्था तथा पत्रकारलाई नेवारी कला संस्कृतिको प्रचारप्रसार गरी नेवारी कला संस्कृति जर्गेना गर्न उल्लेखनिय भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।