Sat. Mar 1st, 2025

लिपुलेक हाम्रो हो भन्दा समातिए १० नेपाली युवा !

Lipulek

२७ साउन, दार्चुला – राष्ट्रियताको अभियानसहित काठमाडौं(दार्चुला जागरण अभियानमा हिँडेका १० जना युवालाई भारतीय सुरक्षाकर्मीले सीमा पुलबाट मंगलबार पक्राउ गरेको छ । लिपुलेक नेपालकै हो भन्ने टोपी लगाएर भारतीय बजार धारचुला घुम्न जाने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले उनीहरूलाई पक्राउ गरेको हो ।

अपराह्न ५ बजेतिर दार्चुला सदरमुकाम खलंगामा आमसभा भइरहेका बेला भारतको धारचुला गएका मोहन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकरीका मोहन आचार्य, खगेन्द्र कँडेल, सन्दीप गौतम, शिव गौतम, सुशील बस्नेत, दिनेश जमकट्टेल, सुदर्शन पौडेल, पुजन खनाल, अंकित तिवारी र किरन पौडेल पक्राउ परेका हुन् । उनीहरूलाई छुटाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले कूटनीतिक पहल गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले लिपुलेकबारे प्रकाशित पर्चा फेला परेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई पक्रेर बयान लिइरहेको बताए । ‘भारतीय सुरक्षाकर्मीले बयानपछि मात्रै छोड्ने भनेको छ,’ उनले भने ।

उनले आमसभा भइरहेका बेला भारतको बजार हेर्न गएका ती विद्यार्थी पक्राउ परेको बताए।माओवादी निकटका विद्यार्थी लिपुलेक आउने खबर पाएपछि भारतले आफ्नो सुरक्षाफौज सीमामा तैनाथ गरिसकेको थियो ।

भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्न भएको सम्झौता खारेजीको माग गर्दै माओवादी निकट विद्यार्थीले काठमाडौंबाट दार्चुलासम्म ‘लिपुलेक हाम्रै हो जागरण अभियान’ चलाएको हो । दार्चुला सदरमुकाम खलंगामा मार्चपास गर्दै उनीहरूले सम्झौता खारेजीको माग गरेका थिए ।

जागरण अभियानको कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले आफूहरू भारतलाई होच्याउन र घोच्याउन नआएको भन्दै तत्काल सम्झौता खारेजीको माग गरे । ‘हाम्रा कार्यकर्तालाई गिरफ्तार गरेर भारतले गलत गरेको छ,’ उनले भने, ‘आफ्नो जमिनको आवाज उठाउँदा नेपाली नागरिक गिरफ्तार हुन्छन्, सीमामा हेपिन्छन् भने यो हामीलाई सह्य हुँदैन ।’

क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रत्न ढकालले आफूहरू भारतविरुद्ध लड्न नभई आफ्नो भूमिको रक्षाका लागि दार्चुलासम्म पुगेको बताए । अभियानअन्तर्गत अखिल क्रान्तिकारीका एक सयभन्दा बढी विद्यार्थी खलंगा पुगेका थिए ।

भारतीय सुरक्षाकर्मीले मंगलबार सदरमुकाम खलंगा र धारचुला आउजाउ गर्ने सर्वसाधारणलाई चेकजाँचमा कडाइ गरेका छन् । यस्तै भारतीय बजारमा काम गर्ने नेपाली कामदारलाई समेत फिर्ता पठाइएको छ ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: