
काठमाडौँ – नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो ।
यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।
यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले गत साता मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको हो ।
प्राधिकरणले प्रतिस्पर्धी र मध्यकालीन दुवै गरी ६३२ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जानकारी दिए । ‘अनुमति पाए जति सबै बिजुली निर्यात हुन थालेको छ,’ उनले भने, ‘देशमै बढी माग भएको दिनबाहेक अन्य समयमा हामीले भारतमा बिजुली बिक्री गरिरहेका छौं ।’