काठमाडौं – तीज नजिकिदै गर्दा सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।
चाडपर्वमा प्रायः सुन–चाँदीको भाउ बढ्ने गर्छ । तर अहिले तीज नजिकिएका बेला पनि मूल्य घटेको छ । यसको कारण भनेको अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तो हुनु हो । अमेरिकी डलर र पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । सोही कारण सुन सस्तो भएको व्यवसायीहरुले बताएका छन् । सुन, डलर र पेट्रोलियम पदार्थलाई लगानीका प्रतिस्पर्धी क्षेत्र मानिन्छ । डलरमा लगानीकर्ताको आकर्षण बढेकाले सुन सस्तो भएको अनुमान गरिएको छ ।