काटमाडौं – सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकार प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।
सञ्चारमन्त्री शर्माले प्रधानमन्त्री अमेरिका भ्रमणमा गएर त्यसपछि चीन भ्रमण गर्ने विषय टुंगिसकेको बताउँदै भनिन्, ‘अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्नु होला किनकि रुटको कुरा प्राविधिक विषय हो ।’
मन्त्री शर्माले अगाडि थपिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीबारे हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयसँग र सम्बन्धित निकायसँग संयोजन गरेर तयारी भइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीन जाने कुरा राम्रो नभएको भन्ने कुरा आइरहेका बेला मन्त्री शर्माले त्यसबारे प्रष्ट पारेकी हुन् ।
सञ्चारमन्त्री एवं प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको समेत बताइन् ।