Sat. Nov 16th, 2024

जर्मनीमा तीन हजार जना पठाउने भन्दै झुटो विज्ञापन

काठमाण्डौ – जर्मनीमा तीन हजार सहायक कामदारको आवश्यकता भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको पाइएको छ ।

अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मन सरकारबीच भएको सम्झौता अनुसार कामदारको माग भएको भन्दै सरकारले आह्वान गर्ने विज्ञापनै स्वरूपमा झुटो कामको विज्ञान गरेको पाइएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

‘श्रम मन्त्रालय र विभागको आधिकारिक विज्ञापन नै हो जस्तो बनाएर सामाजिक सञ्जालमार्फत यसरी जर्मनीमा सहायक कामदारको विज्ञान गरेको पाइयो’ निर्देशक तथा सूचना अधिकारी उप्रेतीले भने ‘विज्ञापनमा विभागको सिस्टममार्फत नै आवेदन दिन सकिने समेत भनिएको पाइएको छ ।’

श्रमिक ठग्ने नियतिले गरिएको यो विज्ञापनको प्रथम पटक प्रकाशित मिति यही भदौ १९ गते उल्लेख छ भने नेपाल र जर्मनबीच भएको श्रम सम्झौता अनुसार कामदार माग गरिएको उल्लेख छ ।

तीन हजार सहायक कामदार सरकारी प्रक्रियामार्फत नै पठाइने त्यसमा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष श्रमिक लैजाने पनि उल्लेख गरिएको छ । यस्तो आवेदन विभागको वेबसाइटमार्फत दिन सकिने भनेर भनिएको छ ।

प्रलोभनमा पार्न तलब महिनामा दुई हजार अमेरिकी डलर हुने, करार अवधि एक वर्षको हुनेजस्ता विवरणहरू समेत उल्लेख गरिएको छ ।

कतैबाट पनि झुटो हो भन्ने मेसो नपाउन भन्नका लागि विज्ञापन नेपाल सरकारले सरकारी प्रक्रियामार्फत इजरायलमा सहायक कामदार पठाउँदा खुलाएको विज्ञापनको जस्तै ढाँचामा यो नक्कली विज्ञापन प्रकाशन गरिएको छ ।

पछिल्लो समय भने विभिन्न अनधिकृत व्यक्ति तथा संस्थाहरूले यसरी झुटो कामको माग भएको भन्दै विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ ।

म्यानपावरहरूलाई समेत झुटो विज्ञापन सामाजिक सञ्जालमार्फत गरेको पाइएपछि विभागले कारबाही गरिरहेको छ ।

About The Author

अन्य समाचारहरु: