
काठमाडौं –सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदैछन् ।
भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए । सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए ।
सिनेटर होलेनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७६औँ वर्षका अवसरमा दुई देशबीचको सम्बन्ध थप वृहत र सुमधुर बनाउने तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल भ्रमण गरेको उल्लेख गरे । यसअघि सन् १९८० मा आफूले नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले त्यस अवधिमा नेपालमा धेरै परिवर्तन र उपलब्धि भएको आफूले पाएको सुनाए ।