
ललितपुर – त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरेकी छन् । बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’मा समेत काम गरेकी छन् ।
लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उनले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइन् । ‘म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आएजस्तो महसुस भएकै छैन’, उनले भनिन् । ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’ लगायतका चलचित्रमा काम गरेकी अभिनेत्री दत्ताले बाल्यकालमा भारतीय अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको बताइन् ।
आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आवद्ध हुन्छु भन्ने लागेको थियो । पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अङ्ग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा जाग्यो ।
‘मलाई अन्य अभिनेत्रीको छायाँ बन्नु थिएन, तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ, सुरुआतमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिन’, अभिनेत्री दत्ताले भनिन् ।