काठमाडौं- नेपाल रेल्वे कम्पनी महाप्रबन्धकबिहीन भएपछि बिजलपुरा–जनकपुर–जयनगर रेल्वे सेवा नै रोकिने अवस्थामा पुगेको छ । २ भदौमा कम्पनीका महप्रबन्धक निरञ्जन झाको पदावधि सकिएपछि रेलमा हालिँदै आएको डिजेलको रकमको भुक्तानी रोकिन पुगेको छ ।
उनको पदावधि सकिएलगत्तै अर्का महाप्रबन्धक नियुक्त गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेल्वे कम्पनीको दैनिक कामकाज प्रभावित भएको छ । तेलको आर्थिक दायित्व भुक्तानी नभएकाले रेलको सेवा नै रोकिने अवस्था आएको दाबी कर्मचारीहरुको छ ।
महाप्रबन्धकलाई मात्रै आर्थिक अधिकार हुने भन्दै रेलमा तेल हालेको पैसा दिन कम्पनीले मानेको छैन । जनपुरको भी आयल स्टोरले बक्यौता भुक्तानी नभए १६ भदौ भोलि देखि तेल नदिने भन्दै पत्राचार गरेको छ । कम्पनीले सोही पम्पबाट रेलका लागि तेल खरिद गर्दै आएको छ ।
कम्पनीका अधिकारीहरुले अन्य कर्मचारीलाई आर्थिक दायित्व भुक्तानीको अधिकार नभएको भन्दै भुक्तनी दिन नसकिने बताइरहेका छन् ।