
काठमाडौँ — पाककलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी सो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै छ ।
पहिलो पटक पाककलासम्बन्धी रियालिटी शो नेपालमा सुरु हुन लागेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले दाबी गरे । कार्यक्रममार्फत् रैथाने खाना, बाली तथा वस्तुसहित फुड टुरिजमको पनि प्रवर्द्धन हुने आयोजकको दाबी छ ।
‘नेपालकै पहिलो फुड रियालिटी सो आउँदै छ,’ उनले भने, ‘हरेक शुक्रबार राति ९ बजेदेखि एक घण्टा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै छ ।’ ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउने घोषणा गरे पनि विविध कारणले ढिलाइ भएको उनले बताए । ‘झन्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन,’ उनले भने, ‘पहिलो पटक अनलाइन अडिसनको आह्वान गर्यौं ।
फर्म भर्न र परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’ पाण्डेका अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट सय जनालाई सर्टलिस्ट गरिएको हो । ‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनले भने, ‘तर हामीले होम कुक र विद्यार्थीहरूलाई मात्र छनोट गर्यौं ।’