काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २५ जना पक्राउ परेका छन् । बिहीबार भारतमा एक जना पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँगको समन्वयनमा सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरि काठमाडौं ल्याएको छ । त्यस्तै सीआईबीले बुधबार मात्रै गणेश पौडेललाई पक्राउ गरेको थियो ।
विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ परेका थिए ।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो ।