
काठमाडौँ- बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुती रहने छ । उनीसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहने छ ।
स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित सयौँ गीत आमश्रोतमाझ पस्किनुभएको छ । उहाँका ‘मलाई सम्झी रेलिमै (कार्गील)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नेछन् ।
नेपालका सबैभन्दा बढी कलाकार आवद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरिन् । स्रष्टा रायमाझीको प्रस्तुती सुन्न देशभरीबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन् ।