सुर्खेत — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए ।
समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए ।आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्यो र उस्तो गर्यो भन्छन् त्यो वाहियात हो,उनले भने,राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।
सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चालिएको छ । यो रोकिनेवाला छैन ।