Tue. Nov 26th, 2024

ड्रागन फुडमै भविश्य खोज्दै धादिङका छविन्द्र र गणेश

शंकर श्रेष्ठ,
धादिङ–
धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ नगरपालिका–१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो ।

पात्ले र साङ्कोष दुबै ठाउँमा अहिले धमाधम उत्पादन दिइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाहरुले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ १२ का छबिन्द्र नारायण श्रेष्ठले बताए ।

श्रेष्ठले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । २०७८ बाट ड्रागन फुड खेति सुरु गर्नुभएका श्रेष्ठले दोश्रो पटकको आम्दानी लिने बेला भएको छ । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिसहरु पुग्ने गरेका छन् । श्रेष्ठले भन्छन्–‘घरैमा पुग्नेहरुलाई प्रतिकिलो पाँच सयमा विक्रि गरिरहेको छु ।’

टाढा टाढाका मानिसहरु खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि भन्दै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उनको भनाइ छ ।

२०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेशा अँगाल्दै आएका श्रेष्ठको ड्रागन फुड खेतीका लागि २२ लाख लगानी भइसकेको छ । यसलाई अझ बिस्तार गर्ने सोचमा रहेको उनले बताए । नेपालको बेसीहरुमा असारदेखि ६ महिना उत्कृष्ट रुपमा फल फलाउन सकिने र अन्य खेतीमा जस्तो रोग नलाग्ने भएकोले स्थानीय फलफुलको रुपमा ड्रागन फुट उत्पादन गर्नुपर्ने उनले बताए ।

कृषिमा होमिएका किसानहरुको बजारको चिन्ता नहुनेगरि बजार प्रवर्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान लगायतका सहयोग पाउने वातावरण हुनुपर्ने छबिन्द्र नारायण श्रेष्ठको माग छ । नेताका पछि लागेकाहरुलाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्धन नहुने र उत्पादन पनि नबढ्ने भएकोले सबै बाद भन्दा माथी उठेर किसानका लागि सहयोग गर्न श्रेष्ठको आग्रह छ ।
नीलकण्ठ नगरपालिका–१ का गणेश गुरुङले पनि दुई वर्ष अघिदेखि विक्रि गरिरहेका छन् । तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाएका गुरुङले यो वर्ष पनि धमाधम लिन थालेका छन् । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेका छन् ।

एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाईबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् ।

उत्पादन भएका फलहरु धादिङबेसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् ।

About The Author

अन्य समाचारहरु: