काठमाण्डौ – नेकपा एमाले संसदमा सरकारको कुरा सुन्न तयार भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै यही साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको एमाले आज मङ्गलवार भने संसदमा गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफल गरेको थियो । एमालेले उच्चस्तरीय समिति गठनको अडान छाडेको छैन भने प्रधानमन्त्री प्रचण्डले यो विषयको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लाई दिइसकेकाले अब अर्को समिति बनाउन नसकिने बताएका थिए । दुवै पक्ष टसमस नभएपछि बैठकमा कुनै खास निष्कर्ष निस्किएन । तर एमालेले सरकारको जवाफसमेत नसुनी संसद् अवरुद्ध गरिरहेको आरोपबाट बच्न गृहमन्त्री नारायणकजी श्रेष्ठको जवाफ भने सुन्न तयार भएको हो ।