
काठमाडौं- भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो ट्रेलर यौन मनोविज्ञानमा आधारित छ । भिन्न पात्र र उनीहरुको यौन संवेग र चाहनालाई ट्रेलरमा चित्रण गरिएको छ ।
तीन अलग कथालाई एक फिल्मको आकार दिंदै गणेशदेव पाण्डेले फिल्म निर्देशन गरेका हुन् । फिल्मले पात्र र उनीहरुको चित्रण समेत गरेको छ । जसअनुसार सुरक्षा पन्तले यौन व्यवसायीको भूमिका निर्वाह गरेकी छिन् । सुशील सिटौलाको सम्बन्ध एकातिर निशा अधिकारी र अर्कोतिर सुरक्षाको चरित्रसँग जोडिएको छ ।
फिल्ममा उषा रजक, तुफान थापा, पुष्कर कार्की, समीरमणि दीक्षित, मोनिका थापाको समेत मुख्य भूमिका छ । पटकथाकार तथा निर्देशक पाण्डेले फिल्मबारे भने, ‘फिल्मका पात्रलाई रत्नपार्कले जोड्छ, यसको कथा सात पात्रको सम्बन्ध वरपर घुमेको छ । जुलेबी लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो ।’
चार महिला पात्रको कथा रहेको फिल्मको निर्माता पनि महिला नै हुन् । महिलाले भोग्ने सम्बन्धको कथाबारे फिल्म बनेको निर्मात्री आभा शर्माले बताइन् । पछिल्लो समय नेपाली पर्दामा धमाधम सहरका कथामा फिल्म बनिरहेको बेला ‘जुलेबी’ पनि थपिएको छ ।