धादिङ– त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा दुग्ध संकलन केन्द्र संचालनमा ल्याइएको छ । साना किसान कृषि सहकारी सस्था लि. सल्यानटारले पाँचधारे डिलमा दुग्धनाथ दुध डेरीको नामबाट संकलन केन्द्र संचालनमा ल्याएको हो ।
वागमती प्रदेश दुग्ध विकास बोर्ड अनुदान सहयोगमा स्थापना गरिएको दुग्ध संकलन केन्द्रको मंगलबार उद्घाटन गरिएको छ । दैनिक पाँच सय लिटर दुध राख्न सकिनेछ ।
गत वर्ष त्रिपुरासुन्दरी गाउपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई ५० वटा भैंसी वितरण गरेकोमा यो वर्ष दुग्ध संकलन केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताए ।
भैंसी पालक किसानलाई सहकारीले गत वर्षदेखि ९ प्रतिशतमा ऋण उपलब्ध गराउदै आएको छ । दुग्ध संकलन केन्द्र स्थापनाबाट किसानहरुको आयआर्जन वृद्धि भई आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने अपेक्षासहित ऋण लगानी गरिरहेको सहकारीले जनाएको छ ।
साना किसान कृषि सहकारी सल्यानटारले यसै वर्ष त्रिपुरासुन्दरी गाउपालिकासंगको साझेदारीमा सस्थाको कार्यक्षेत्र भित्र पर्ने प्रत्येक अन्तर समुहमा १/१ वटा कृषि यन्त्र उपकरण समेत वितरण गरेको थियो ।