धादिङ– ट्राफिक कारबाहीबाट मात्रै धादिङमा सवा तीन करोड राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने र दुर्घटनामा परेका सवारीहरुबाट मात्रै आर्थिक वर्ष २०७९/८० मा तीन करोड १३ लाख चार हजार पाँच सय रुपैंया राजश्व संकलन गरेको हो ।
यो वर्ष नियम उल्लंघन गर्ने र दुर्घटनामा परेका गरी ३८ हजार आठ सय ५० वटा सवारीबाट ट्राफिकले राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । ट्राफिक कारबाहीमा परेका मध्ये दुई सय ३१ वटा सवारीले दुर्घटना गराएबापत राजश्व तिराइएको मिश्रले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ को भन्दा यस वर्ष आठ लाख ५३ हजार बढी राजश्व संकलन भएको मिश्रले बताए । अघिल्लो आर्थिक वर्षमा ट्राफिक नियम उलंघन र दुर्घटनाबाट तीन करोड चार लाख ५१ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकमा उल्लेख छ ।
चोरी तस्करी तथा भन्सार छली गरेर पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौं भित्रिदै गरेका मालबाहक ट्रकबाट दुई करोड २१ लाख १७ हजार आठ सय ५८ रुपंैया बराबरको सामान नियन्त्रणमा लिई राजश्व कार्यालय पठाइएको प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । ट्राफिक कारबाही र सामान नियन्त्रण समेत गरी आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ३४ लाख २२ हजार तीन सय ५८ रुपैंया राजश्व संकलन भएको उहाँले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष राजश्व संकलन र बारबाहीको संख्या बढेपनि सवारी दुर्घटनाको संख्या कम गराउन प्रहरी सफल भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा दुई सय ५४ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ३१ वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनाको संख्या घटाउन सफल भएसँगै दुर्घटनामा परी मृत्यु हुने भएको र घाइते हुनेको संख्यामा कमी ल्याउन सफल भएको प्रहरी नायव उपरिक्षक जैसवारले बताए ।
आर्थिक वर्ष २०७९/८० मा भएका वार्षिक कार्य समिक्षाको क्रममा प्रहरी उपरिक्षक मिश्रले समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनको काम पनि प्रभावकारी बनाउन सफल भएको तथ्यांक प्रस्तुत गरे ।
प्रस्तुतीको क्रममा मिश्रले पछिल्लो ५ महिनामा एक सय ३ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए । तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को अघिल्लो ७ महिनामा सात जना मात्रै फरार प्रतिवादी पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८/७९ को तुलनामा फरार प्रतिवादी पक्राउको संख्या ३७.२७ प्रतिशतले बढी हो ।