आजदेखि आर्थिक वर्ष २०८०/८१ प्रारम्भ भएको छ । सरकारले जेठ १५ गते घोषणा गरेको नयाँ आर्थिक वर्षको बजेट आजैदेखि लागु भएको छ ।
सरकारले आजदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा ल्याएको छ । जसअनुसार पाँचतारे वा सोभन्दा माथिका होटल, रिसोर्ट तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा थप २ प्रतिशत शुल्क तोकिएको छ । त्यसलाई विलासिता शुल्क भनिएको छ ।
आजदेखि ट्राभल एजेन्सीहरुको वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लगाइएको छ । हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धिकर सम्बन्धी सूचनामा त्यसबारे उल्लेख छ ।
बजेट भाषणको क्रममा तोकिएका नयाँ भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर सोही बेलादेखि कार्यान्वयनमा आइसकेको छ । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।