Fri. Jan 31st, 2025

अझै भएन धादिङका दुई तिहाई खेतमा रोपाई !

धादिङ– असार महिनाको अन्तिम दिनसम्म धादिङका दुई तिहाई खेतमा रोपाई हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा समेत अघिल्लो बाली पाकिनसकेका कारण रोपाई हुन सकेको छैन ।

यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए । वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाई ढिलो भएको शर्माले बताए ।

खोलाको पानी लाग्ने खेतहरुमा भर्खर मात्रै रोपाईको रौनकले छोएपनि टारी खेतहरुमा मकै पाकेकै छैन । ‘मनसुनका लागि चैते धान रोपाई नै ढिलो भयो । त्यसै अनुसार मकै लगाउन पनि ढिला भयो’, कृषि प्रसार अधिकृत शर्मा भन्छन्–‘अहिले टारी खेतहरुमा चैते धान र मकै दुबै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाई ढिलो भएको हो ।’

साना साना खोला खोल्साहरुको पानी लाग्ने टारी खेतहरुमा रोपाई सुरु हुनै सकेको छैन । मकै बारीभित्रभित्रै किसानले छेउकुना काटेर तयारी सुरु गरेपनि कतै पानीकै कारण त कतै अघिल्लो बाली नपाकेका कारण रोपाई गर्न पाएका छैनन् ।

धादिङमा धान बाली लगाइने झण्डै आधा खेत पहाडी भुभागमा पर्छ । असार लागेपछि फाटफुट पानी परेपनि खोलाखोल्सीमा मुल पलाउन सकेको छैन । मौसमले साथ नदिए खेत बाँझै बस्ने चिन्तामा किसान परेका छन् । उनीहरु भन्छन्–‘दुईचार दिन मज्जाले पानी प¥यो र खोलाखोल्सी बढ्यो, मुल पलायो भने रोपाई हुन्छ नत्र रोपाई हुने छाँट देखिदैन ।’

धादिङमा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी कम उचाई भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाउने गरेका छन् । बढि उचाई भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन् ।

जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ । यो वर्ष साउन १५ सम्म रोपाई लम्बिन सक्ने प्राविधिकहरुको अनुभान छ ।

About The Author

अन्य समाचारहरु: