तोला कुमारी पाठक
जिल्लामा बसेर महिलाहरुको क्षेत्रमा काम गरेको झण्डै एक दशक वित्न लागेछ । विभिन्न ठाँउमा गएर छलफल गर्दा धेरै समस्या हरु आउथे । कसैको नागरीकता छैन रे तिनलाई लियो जिल्ला प्रसाशन कार्यालय गयो । सिडियो साव नागरीकता बनाईदिनु परयो भन्यो । कुुनै महिला आउछन् हिसा गरे श्रीमानले भनेर प्रहरीमा गयो दिनभरी वस्यो पुरुषलाई गाली गरयो अनि महिलाको मागमा सहमति गरायो । महिला अभियान गर्न परयो त्यसका लागि पैसा उठाउ चन्दा माग्न हिड्दा कति गालि खाईयो । धेरैले गाली गरे । कहिलेकाही सहकर्मी पुरुष मित्रहरु गाली गर्न सम्म गर्छन अनि ए ए महिला अधिकार कर्मी यहि छ भन्दा पनि पचाएर बस्ने गरीयो । सबै सहने भन्दा अरु केही उपाए थिएन । महिलाहरुको हितको लागि धेरै नै काम गरीयो । महिलाहरु कै सवाललाई लिएर हिड्दा कहिले काही सरकारी कर्मचारी, नेता ज्यूहरु र अन्य पुरुष साथीहरु सँग धेरै नै दुश्मन पनि वनियो । अरुले मलाई हेर्ने दृष्टिकोणमा धेरै नै फरक भएको अनुभूति भयो ।
त्यति बेला बाहिर बाट हेर्ने आखा र अहिले वकिल भए पछि वकालत पेशा वनाई काम गर्दाको अवस्थालाई मनन गर्र्दा विल्कुलै फरक लागेको छ । साच्चै मेरो वकालत पेशा महिलाहरुको पछि लाग्दा धेरै धोका पाईन्छ की जस्तो लाग्छ । अरुले मेरो पेशामा प्रश्न चिन्ह आउछ कि जस्तो लाग्छ ? म न्याय दिनका लागि गर्ने लडाईमा हार्छु की भन्ने डर पनि लागेको छ । प्रतिनिधिमूलक ताजा घटनालाई उदाहरणको रुपममा लेख्न कोशिस गरेकी छु ।
एक दिन जिल्ला बारमा बसिरहदा एक जना बहिनी उनको नातामा दाजु पर्ने व्यक्तिको साथ लागेर आईन । अनि दाजु चाहिले यहाँ महिला वकिल छैन भनि सोधे । उता छ भनेर वकिल दाजुहरुले म तिर देखाउनु भयो । अनि मैले किन र के भयो भनी सोधे उनीहरुले एक्लै बसेर कुरा गर्न चाहे मैले पनि दाजु सँग थोरै मात्र कुरा गरे र तपाई बाहिर जानु भने । अव बहिनीसँग सबै कुरा सोधे । उनी रुदै भन्दै गरीन । उनलाई जवरजस्ती गरीयो रे अन्तिम अवस्थामा भागेर बाचे नत्र म मरी सक्थे । म करायो भनेर ढुगां टिप्न लाग्दा म भागे । हेर्नु न दिदी मेरो शरीरमा । उनले कपडा खोलेर देखाइन शरीर भरी घाउ चोट लागेको थियो । निधारमा पुरै कोपारेको चोट बाहिरबाट हेर्दा नै दुखिन्थ्यो । शरीर भरीको चोट हेर्दा अनि उनले भनेका सबै घटनाको विवरण सुन्दा जवरजस्ती करणीको अन्तिम अवस्थामा उनी भाग्न सफल भएको देखाउथ्यो । मैले जाहेरी लेखिदिए जवरजस्ती करणी उद्योगको । जाहेरी दर्ता भयो । मैले तिम्रो न्यायको लागि म सहयोग गर्ने छु भने । प्रहरीले दोषि उपर कार्वाहीको प्रकृया अगाडी बढायो ।
भोलिपल्ट बाट नेताहरु पालै पालो प्रहरी र अदालतमा चहलपहल राम्रै गरेको देखियो । ति वहिनिले बेला बेलामा फोन गरेर मेरो मुद्धा के भईरहेछ चासो पनि देखाउदै गरेकी थिईन । मैले पनि प्रकृया कहा पुगेको छ भनेर बुझेर सुनाउदै जान्थे । केही समय पछि हाम्रो वीचमा कुराकानी भएको थिएन । एक दिन उनी एक्कासी अदालतमा आईन मैले हेरी रहेको थिए तर उनी बोलिनन मलाई देखे पछि मुन्टो अर्को तिर फर्काएर हिडिन । म आश्चर्य मा परे । कुरो के रैछ भने उनी वयानका लागि आएको रे । मलाई यो केटाले केही गरेको हैन अरु नै व्यक्तिले पो गरेको हो भन्ने कुरा गरे पश्चात दोषि भनेर कारवाही चलेको व्यक्ति छुटेर घर गए । जुन वेला उनी हतोत्साही भएर वयानका लागि अदालतमा आएकी थिईन ।
उनको निधारमा चोटको खत प्रत्यक्ष देखिन्थ्यो । मलाई न्याय चाहियो भनेर शरीरका निल डाम देखाएकी ति वहिनीले मनबाटै न्याय पाएको महशुस गरीन होला त ? उनको मनमा न्यायको अनुभूति भयो होला त ? के अरु पनि जवरजस्ती करणीका घटनाहरुमा यस्तै हुने होलान ? मलाई खिन्न लाग्यो । सोचे महिलाहरु समाजको वन्दनमा छन् । किनकी यो भन्दा पहिले एक जना दिदि ले श्रीमानले गरेको चरम यातना, ज्याजतीका कारण शरीर भरी चाटैचोट बोकेर रुदै कराउदै आएर जसरी भए पनि श्रीमानलाई थुन्न परयो भनेर आउनु भएको थियो । अधिकारकर्मि अप्सरा उप्रेती र मैले न्यायलय सम्म लैजान सहयोग समेत गरेका थियौ उहाँलाई मुद्धा दर्ता गर्न अगाडी तपाईको छोरा र आफन्तहरुलाई सोध्न समेत सल्लाह दिएका थियौ । कुनै हालतमा पनि मलाई न्याय चाहिन्छ म अन्यायमा परे म बाच्न नसक्ने भए भने पश्चात वैवाहिक बलत्कारको मुद्धा दर्ता भयो र ३, ४ दिन पश्चात त्यहि स्थानमा भेट्दा उनै दिदीले गाली गर्दा हामीलाई लज्जास्पक स्थिति भएको थियो । श्रीमानलाई थुनेर आफू घर गए पश्चात त्यो गाँउ घर समाजमा झनै वस्न नसकेर अदालतमा आएर मलाई अन्याय भएको छैन भनि श्रीमानलाई छुटाई लानु भएको थियो । या घटनाले पनि उहाँको भन्दा पनि समाज ले महिलाहरु माथि कति सम्म अन्याय गरयो भन्ने कुराको महशुस गरायो ।
आज पनि महिलाहरु समाजमा अस्तित्व विहिन भएर वस्न वस्न बाध्य छन् । त्यस्तो घटनाहरु जिल्लामा धेरै नै हुने गरेको पाईन्छ । जसका कारण महिलाहरुले न्याय होईन घर परिवार समाजको बन्धनमा बाधिएर हतोत्साहीत भएर मुद्धालाई कमजोर बनाउने र आफनो पिडा लाई लुकाएर अरुले जे हो भन्यो त्यै गर्ने गरेको पाईन्छ । समाज ,घरका व्यक्तिहरुको दवावमा महिलाहरु न्यायको खोजीमा आउदा अन्यायमा परेका हुन्छन् । यस्ता घटनाहरुलाई बढवा दिदा कुनै व्यक्ति विशेषले त फाईदा लिने गर्लान । तर अदालत प्रहरी, अस्पताल लगायतका विभिन्न निकायको समय बर्बाद हुन्छ । अर्कातिर यस्ता घटनाहरुले हाम्रो समुदायमा नराम्रो विजारोपण गर्दै छ । यस्ता मानसिकता भएका व्यक्तिहरु थप अपराधिक कार्यमा संलग्न भई हाम्रा हरेक महिलालाई न्याय दिने नाममा अन्याय दिदैछन् । भोलीक एउटी उदाहरण को महिला को मात्र कुरा नभएर हाम्रो घरमा भएको, हाम्रो कोखमा जन्मेकी छोरीको त्यै हविगत हुदैछ ।