धादिङ– नेकपा एमाले निकट अनेरास्ववियु धादिङले व्यङ्ग्यात्मक ढंगबाट राष्ट्रपतिलाई सहयोग पठाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपचार गर्दाको खर्च भन्दै ५५ लाख दुई हजार दुई सय ७९ रुपैंया अर्थ मन्त्रालयमा भुक्तानी माग गरेको सन्दर्भलाई व्यङ्ग्य गर्दै अनेरास्ववियुले ध्यानाकर्षण पत्रसहित सहयोगार्थ रकम पठाएको हो । ‘राष्ट्रपतिको सहयोगको निम्ति रु.१ सहयोग संकलन अभियान’ चलाएर एक सय एक रुपैंया प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई पठाएको अनेरास्ववियु धादिङका अध्यक्ष श्याम लामाले बताए ।
राज्य कोषबाट उच्च अधिकारीले उपचार खर्च लिन नहुने चर्काे आवाज उठेपछि राष्ट्रपतिको सचिवालयले विज्ञप्ती जारी गर्दै आफ्नो उपचार खर्च राष्ट्रपति आफै व्यहोर्ने अभिव्यक्ति दिएपछि पनि फेरी अर्थ मन्त्रालयमा भुक्तानी माग गरेकोप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
राष्ट्रपति पौडेल उपचारको लागि भारत जाँदाको एयर एम्बुलेन्स र उपचार पश्चात फर्किदाको वायु सेवाको भाडासहित भुक्तानीका लागि अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेपछि राष्ट्रपति पौडेलको उपचारमा लागेको खर्चको लागि ‘एक रुपैंया आर्थिक सहयोग संकलन अभियान’ संचालन गरी एक सय एक रुपैंया सहयोग पठाइएको अध्यक्ष लामाले बताए ।