Sat. Mar 15th, 2025

दुई वर्षमा धादिङका ३१ जनाकोे विदेशमा मृत्यु

धादिङ – पछिल्लो दुई वर्षमा धादिङका ३१ जनाले विदेशमा ज्यान गुमाएका छन् । धन कमाउने र सुखी जीवनयापनको सपना बुनेर विदेशी भुमीमा पुगेका मध्ये ३० जना पुरुष र एक जना महिला छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/८९ मा १९ जना पुरुष र आर्थिक वर्ष २०७९/८० मा ११ जना पुरुष र एक जना महिलाले विभिन्न कारण ज्यान गुमाएका छन् ।

रोजगारीको शिलशिलामा बिरामी परेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । प्राकृतिक मृत्यु, सडक दुर्घटना र आत्महत्या गर्नेहरुको संख्या पनि डरलाग्दो छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रतिवेदन अनुसार धादिङबाट वैदेशिक रोजगारीमा पुगेकाहरु प्रायजसोेले काम गर्ने ठाउँ र सुत्ने वस्ने ठाउँको तापक्रम नमिल्दा सुतेकै ठाउँमा ज्यान गुमाएका छन् । २०६६ साल यता धादिङका एक सय ६४ जनाले ज्यान गुमाएको तथ्यांक छ । त्यसमध्ये ६ जना महिला छन् ।  

सामीले चालु आर्थिक वर्ष २०७९/८० को प्रगति तथा सरोकारवालासँग कार्यक्रमको दिगोपना विषयमा छलफल पनि गरेको छ । छलफलको क्रममा सामीका कार्यक्रम संयोजक दिनेश दुवाडीले नेपालमा आन्तरिक रोजगारीको पर्याप्त अवसर नहुनु, गरिबी र देशको अस्थिर अवस्थाको कारण युवाहरुले वैदेशीक रोजगारीमा जाने गरेको बताए । युवा जनशक्ति विदेश पलायन हुँदै गर्दा समुदाय तहमा पनि यसको असर  देखिएको छ । आन्तरिक बसाईसराई, पारिवारिक वेमेल, घरेलु हिंसा र विखण्डनका कारण मनोसामाजिक समस्या समेत उत्पन्न भएको दुवाडीले बताए ।

गाउँमा युवा जनशक्तिको अभावले खेतीयोग्य जमिन पनि बाँझै हुन थालेको छ भने खर्चिलो सामाजिक जिवनले समुदायमा ऋणको भार थपिएको उनले बताए । वैदेशीक रोजगारीमा जानेहरुको तथ्यांकलाई केलाउने हो भने धादिङमा मात्रै दैनिक राहदानी बनाउन आउनेको संख्या बढ्दो छ । उच्च शिक्षको बहानामा युरोपियन मुलकहरुमा जान भन्दै राहदानी बनाउन आउने युवाहरुको संख्या पछिल्लो समय निकै बढेको छ । कक्षा १२ को परिक्षा सकेर राहदानी बनाउन आउने र उनीहरु अधिकांशले जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत देशहमा प्रक्रिया अगाडी बढाएको परामर्शदाताहरु समक्ष बताउने गरेका छन् ।

वैदेशिक रोजगारीमा स्वदेश विदेश दुईतिरै चुनौति
वैदेशिक रोजगारमा चुनौतीका चाङ नै छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष हुनु सबैभन्दा ठूलो चूनौतिको रुपमा देखा परेको छ । जसले गर्दा अधिकांश नेपाली कामदारहरुले जोखिमपूर्ण कार्य गर्नु पर्ने अवस्था छ ।

गन्तव्य मुलुकको हावापानी, नियम कानुन, काम गर्ने वातावरण/संस्कृतिको बारेमा ज्ञान नहुनु र ठगी तथा अलपत्र पर्नु साथै कानुनी सहायताको लागि आवश्यक प्रमाण नहुनु अर्काे चुनौति हो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको आयमुलक क्षेत्रमा परिचालन गर्न सकिरहेको अवस्था छैन । वैदेशिक रोजगारीमा विभिन्न कारणले महिलाहरुलाई थप जोखिम छ ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेश पुगेर मात्रै होइन विदेश जाने प्रकृया थालनीदेखि नै विभिन्न चुनौतिहरुको सामना गर्नुपर्ने बाध्यता छ ।

स्वदेशमा हुने चुनौतीहरु
– रकम भुक्तानी गरिसकेपछि लामो समयसम्म गन्तव्य मुलुकमा जान नपाउने ।
– रकम तिरेको अभिलेख÷प्रमाण नपाउने ।
– मेनपावर कम्पनी तथा स्थानीय सम्पर्कमा आएका व्यक्तिहरुको चलखेलले गर्दा वढी रकम तिरेर वैदेशिक रोजगारीमा जानु पर्ने वाध्यता ।
– सुचना तथा जानकारी अभाव ले गर्दा वैदेशिक रोजगारी वारे जनकारी नहुनु (स्वास्थ्य परिक्षण, अभिमुखिकरण तालिम, वीमा, सम्झौता, लागत, कम्पनी, देश, मेनपावर कम्पनी) ।

गन्तव्य मुलुकमा हुने चुनौतीहरु
– गन्तव्य मुलुकको भाषा, हावापानी, आधारभुत कानुन, धर्म/संस्कृति वारे जानकारी नहुनु ।
– काम, दाम, कम्पनी फरक, कहिलेकाही कम्पनी वन्द भई अलपत्र पर्ने अवस्था, सप्लाई कम्पनीमा पर्दा गर्नुपर्ने कामको सुनिश्चितता नहुने ।
– काम र कमपनीले गर्दा अलपत्र पर्ने अवस्था, अलेखवद्व हुँदा स्वदेश फर्किन समस्या ।
– स्वास्थ्य उपचार तथा कानुनी उपचारमा समस्या ।
– सीपको अभावमा काम गर्नु पर्ने बाध्यता ।

About The Author

अन्य समाचारहरु: