धादिङ– असार १५ मा पनि किसानहरुलाई रोपाइको रौनकताले छोएको छैन । यतिबेला हिलोआली र रोपाइँले व्याईनभ्याई बन्ने किसानहरुलाई अहिले बल्ल चैते धान भित्राउने चटारो छ ।
धान उत्पादनको मुख्य मानिएका फाँटहरुमा रोपाइँको रौनक छैन । मध्यअसार बितिसक्दा यो वर्ष धादिङमा ११ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा १६ हजार ५ सय हेक्टर भन्दा बढी क्षेत्रमा धान खेती हुँदै आएपनि समयमा बर्षा नहुँदा रोपाइँ नै प्रभावित बनेको हो । वर्षात ढिला भएको र चैते धान पाकिनसकेको कारण रोपाई ढिलो भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार धादिङ जिल्लामा वार्षिक ३७ हजार ९ सय ६७ मेट्रिक टन वर्षे धान र ७ हजार ५ सय मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गर्दछ । बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ । तर यस ठाउँका अधिकांश फाँटहरु पानी नपरेको कारण बाँझै छन् । गाउँमा काम गर्ने कामदारको पनि अभाव देखिएको छ । अधिकांश युवाले बैदेशिक रोजगारी र अध्ययनका लागि गाउँ छाडेकाले काम गर्ने कामदारको अभाव देखिएको हो ।
जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको प्रयोग पनि बढ्दो क्रममा छ । अघिल्लो वर्ष एक हजार एक सय ५९ हेक्टरमा रोपाई भएको थियो भने यो वर्ष धादिङ जिल्लामा १२ सय २७ हेक्टरमा रोपाई हुने अनुमान गरिएको शर्माको भनाई छ । यो वर्ष मनसुन ढिला भएको कारण रोपाई साउन १५ सम्म लम्बिन सक्ने प्राविधिकहरुलेको अनुभान छ ।