धादिङ– असार १५ का दिन धान दिवसको छुट्टै हर्षाेउल्लास र रौनक हुन्थ्यो । किसानको खेतमै पुगेर दहि चिउरा खाने विशेष कार्यक्रम गरिन्थ्यो । सरकारी र गैर सरकारी संस्थाहरुले हिले दौड, लोकगीतलगायत धान दिवस विशेष कार्यक्रम गथ्र्याे । तर, यो वर्षको धान दिवस धादिङमा कसैको प्राथमिकतामा परेन । असारे हिसाब किताबमा व्यस्त जनप्रतिनिधिहरुले त बिर्सिए नै धान उत्पादक किसानकै लागि खटिने कार्यालय र कर्मचारीले पनि धान दिवसलाई सम्बोधन गर्न सकेनन् ।
जिल्लाभरका किसान र स्थानीय सरकारहरुसँग समन्वय गरेर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन अग्रसर हुनुपर्ने कृषि ज्ञान केन्द्र धादिङ पनि लाचार देखिएको छ । ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्य मण्डली माध्यामिक विद्यालयले आयोजना गरेको धान दिवस मनाउन शुक्रबार सुटुक्क गंगाजमुना पुगेका छन् । कार्यालयका अन्य कर्मचारी र सरोकारवाहरुलाई पनि खबरै नगरी गंगाजमुनाको फुलखर्क पुगेका आचार्य जिल्लाको अन्य स्थानमा धान दिवस विशेष कार्यक्रमका बारेमा आफुलाई केही थाहा नभएको प्रतिकृया दिए ।
पकेट क्षेत्र घोषणा गरेर धान उत्पादन थालिएको क्षेत्रहरुमा पनि असार १५ को रौनक देखिएन । धान दिवसको दिन धानकै पकेट क्षेत्रलाई कृषि ज्ञान केन्द्रले त सम्झन भ्याएन नै स्थानीय सरकारले पनि भुलेको छ । अधिकांश स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुले कार्यव्यस्थताले औपचारिक कार्यक्रम गर्न नभ्याइएको बताएका छन् ।
धादिङको धुनिबेसी नगरपालिकाको वडा नम्बर ४ र ५, गल्छी गाउँपालिकाको वडा नम्बर १ र २ लाई धान खेतीको पकेट क्षेत्र मानिएको छ । गजुरीको ७ र ८, ज्वालामुखीको १, ५ र ७ पनि धानको पकेट क्षेत्र हो । त्यस्तै बेनिघाट रोराङको वडा नम्बर २, त्रिपुरासुन्दरीको वडा नम्बर ३, ५ र ७ पनि धान खेतीको पकेट क्षेत्र हो । तर, यी स्थानहरुमा धान दिवसको कुनै रौनक देखिएन ।
स्थानीय तहहरुले धान दिवस मनाउनकै लागि भनेर बजेट नै राखेका हुन्छन् । अघिल्ला वर्षहरुमा धान दिवलाई विशेष प्राथाकितामा राख्दै छुट्टै कार्यक्रम गर्ने स्थानीय सरकारहरुले यो वर्ष धान दिवसलाई चासो देखिएको पाइएन । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, अगुवा किसान, पत्रकारलगायत सरोकारवालाहरुसहितको जमघट गराएर बाजागाजासहित धान दिवस मनाउने पालिकाहरुले पनि यो वर्ष त्यस्तो कुनै कार्यक्रम गरेनन् । गजुरी गाउँपालिकाले किरान्चोक कृषि सहकारी संस्थालाई धान दिवस मनाउन सहयोग गरेको भनिएपनि त्यत्ति प्रभावकारी देखिएन ।
अघिल्लो वर्षहरुमा निकै तामझामसहित धान दिवस मनाउने नीलकण्ठ नगरपालिका, सिद्द्लेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनिबेसी नगरपालिकाले पनि यो वर्ष किसानको खेतमा औपचारिक कार्यक्रम गरेन । नीलकण्ठ नगरपालिकाले वडा नम्बर ३ को कुँडुलेमा किसानले धान रोपाइ गर्दै गरेको स्थानमा एउटा व्यानर राखेर केहीबेर फोटो खिचाएर फर्किए पनि अन्यले त्यहि गरेको पनि पाइएन ।
‘धान, मकै, आलुजस्ता बढी आयात हुने बालीको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम सञ्चानल गरिनेछ,’ भनेर प्राय सबैको बजेटमा उल्लेख छ । असार १५ गतेलाई राष्ट्रिय रुपमा धान दिवस मनाउने पनि सरकारको नीति तथा कार्यक्रममा नै उल्लेख छ । तर धान दिवस स्थानीय सरकार र सम्बन्धित कार्यालयको प्राथमिकतामा नपर्नुले सरोकारवालाहरु नै अचम्ममा परेका छन् ।