चिनो सारु
धादिङ– देशभर फैलिएको लम्पीस्किन प्रकोपको असर दुग्ध उत्पादक किसानमा प्रत्यक्ष देखिएको छ ।
दुध बेचेरै जीविको चलाउँदै आएका किसानको गाई भैंसीमा रोग देखिएसँगै दुधको उत्पादन घटेपछि किसान मर्कामा परेका छन् । लम्पीस्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दुध उत्पादन हुँदै आएको अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ ।
रोगका कारण दुहुना गाई र भैसी विरामी पर्ने र मर्ने समस्याले दुध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको श्रोत नै बन्द भएजस्तै बनेको छ । ‘रोग फैलिनुअघि दैनिक एक लाख लिटर दुध उत्पादन हुने अनुमानित तथ्यांक थियो तर अहिले थोरैमा ३० प्रतिशत र बढिमा ४० प्रतिशतसम्म दुधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ,’ पशु विकास अधिकृत डा. सन्दिप सिलवाल भन्छन्–‘रोगको संक्रमण बढ्ने क्रम नरोकिएकोले दुधको उत्पादन अझ घट्न सक्छ ।’
भेटेनरी अस्पतालमा संकलन भएको तथ्यांक अनुसार हालसम्म धादिङ जिल्लामा ८ हजार भन्दा बढि गाई भैसीमा लम्पीस्किनको संक्रमण देखिएको छ । त्यसमध्ये ७० प्रतिशत भन्दा बढी संक्रमण दुधालु गाई भैसीमा देखिएको सिलवालको भनाई छ ।
गाउँ गाउँमा खटिएका प्राविधिकहरुले पनि दुधको उत्पादनमा ५० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् । गोरुमा भन्दा गाईमा नै संक्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका ८ का पशु स्वयंसेवक इशु तामाङले बताए । ‘म जहाँ पुगेको छु त्यहाँ दुधालु पशु नै धेरै मरेको पाएको छु, संक्रमणको दर बराबर जस्तै भएपनि असर दुधालु पशुलाई नै देखिएको छ,’ तामाङ भन्छन्–‘दुध दिइरहेका गाई र व्याउने बेला भएको गाईमा रोगको संक्रमण देखिएपनि किसानहरु चिन्तामा छन् ।’
स्थानीय तहहरुले समयमै रिपोर्टिङ नदिँदा जिल्लाको एकिन तथ्यांक आउन नसकेको पशु विकास अधिकृत डा. सिलवालले बताए । जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेनरी अस्पताललाई रिपोर्टिङ गर्नुपर्ने भएपनि स्थानीय तहबाट तथ्यांक लिनै कठिन भइरहेको उनको भनाई छ ।
स्थानीय तहहरुले रोग नियन्त्रणको लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भनेपनि रोग नियन्त्रण हुन सकेको छैन । गत तीन महिनादेखि रोग देखा परेपनि हालसम्म यसको संक्रमण बढ्दो नै छ ।