धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्ब १८ करोड ९७ लाख ०७ हजार ४७७ रुपियाँ ६६ पैसाको बजेट विनियोजन गरेको छ । दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा चालु खर्चतर्फ ८० करोड ४१ लाख ७ हजार ४७७ रुपियाँ ६६ पैसा तथा पुँजिगत खर्चतर्फ ३८ करोड ५६ लाख विनियोजन गरेको नगर उपप्रमुख दिपक विश्वकर्माले बताए ।
दोस्रो नगरसभाले आगामी आर्थिक वर्षको लागि कृषि तथा पशु, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शिर्षकमा बजेट विनियोजन गरेको हो ।
माटो र हावापानीसँग मेल खाने कृषि उपज उत्पादनमा जोड दिदै कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउने निति अनुसार माटो सुहाउदो कृषिवाली प्रवद्र्धनका लागि ३५ लाख, पशुपन्छीको औषधि निशुल्क उपलब्धको लागि १५ लाख, मेयर उद्यमशिलता विकास कार्यक्रम मार्फत उद्यमशिलता प्रवद्र्धनका लागि ८० लाख, उद्योग वाणिज्य क्षेत्रको प्रवर्धनात्मक कार्यक्रमका लागि १५ लाख, समग्र उद्योग तथा लघु विकासका लागि एक करोड, संस्कृति तथा पर्यटन प्रवर्धनमा १ करोड ३० लाख तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका लागि १० लाख, सहकारी विकासका लागि १५ लाख, सामाजिक विकासतर्फ ८ करोड २७ लाख ३० हजार रकम विनियोजन गरिएको उपप्रमुख दिपक विश्वकर्माले बताए ।
त्यस्तै, नेपाल सरकारले तोकेको निःशुल्क औषधि, औजार उपकरण तथा प्रयोगशाला सामाग्री खरिदका लागि प्रयाप्त रकम विनियोजन गरिएको उनले बताए । ‘‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’’ भन्ने मुल नाराका साथ स्वस्थ मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिदै स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउन पनि बजेट विनियोजन गरिएको छ । ‘एक वडा एक नमुना विद्यालय’ विकास कार्यक्रम अन्तर्गत विद्यालय सुधारतर्फ २१ लाख, शैक्षिक सुधार गर्न २७ लाख, नीलकण्ठ क्याम्पसका लागि १५ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि संघ र प्रदेश सरकारबाट प्राप्त थप ३ करोड ८५ लाख रुपिया विनियोजन गरिएको छ ।
युवासँग उपप्रमुख कार्यक्रम अन्र्तगत युवा हितका कार्यका लागि १० लाख, खेल सामाग्री सहयोगमा ३६ लाख, लिफ्ट खानेपानी कार्यक्रमका लागि विद्युत महसुलमा ७० प्रतिशत अनुदान दिन २० लाख, फोहोरमैला व्यवस्थापन गर्न २६ लाख, दलित समुदायको सर्वाङ्गिण विकास उत्थान कार्यक्रमका लागि २५ लाख, महिला तथा महिला जनप्रतिनिधि कार्यक्रमलाई १४ लाख, सडक विकास पूर्वाधार क्षेत्रमा संघ, प्रदेश तथा अन्य साझेदार निकाय समपूरक गरी ६ करोड ६० लाख, आर्थिक वर्षमा पूर्वधार विकास तर्फ २८ करोड २० लाख, वातावरण वन सरफाई र विपद क्षेत्रमा १ करोड ५० लाख, एकीकृत घुम्ती शिविरका लागि १४ लाख, सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि १५ लाख, न्यायिक समितिका लागि १५ लाख, आर्थिक विकासतर्फ ३ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको उपप्रमुख विश्वकर्माले बताए ।