Wed. Nov 27th, 2024

नीलकण्ठ नगरपालिकाले ल्यायो नयाँ नीति तथा कार्यक्रम (हेर्नुहोस्)

धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाद्धारा प्रस्तुत
आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम

नगर उपप्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, कार्यपालिकाका पदाधिकारी ज्यूहरु, नगरसभाका सदस्य ज्यूहरु, उपस्थित कर्मचारी मित्रहरु , पत्रकार बन्धुहरु !

नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको यो तेश्रो अधिवेशनमा उपस्थित यहाँहरु सवैमा हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु । नेपालको संविधान २०७२ ले ब्यवस्था गरेको तीन तहको सरकार अन्तर्गत जनताको प्रत्यक्ष सहभागिता रहने स्थानीय सरकार प्रमुखका रुपमा नीलकण्ठ नगरपालिकाको दोश्रो पटक नेतृत्व गर्ने अवसर प्राप्त गरी यो दोश्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु । यो गरिमामय क्षणमा स्वतन्त्रता, संघीयता र लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागिशाहदत प्राप्त गर्ने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
राजनैतिक ब्यवस्था परिवर्तन र स्वतन्त्रताको लागि पुस्तौँसम्म सङ्घर्ष गर्दा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट नगरको समग्र विकास गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो कांधमा छ । यो जिम्मेवारीलाई इमान्दारिताकासाथ निर्वाह गर्दै हाम्रै कार्यकाल भित्र देशकै नमूना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकालाई स्थापीत गर्ने प्रतिबद्धता पुनः स्मरण गर्न चाहन्छु ।
उपलब्ध विविध साधन श्रोत, संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको अनुदान, नगरपालिकाको आफ्नै आन्तरिक आयश्रोत, कर्मचारी प्रशासन र सम्पूर्ण नगरबासीहरुको न्यानो साथ एवं विभिन्न दातृ संघ संस्था तथा निकायसँगको सहकार्यमा नगरबासीले सुम्पिएको यो ऐतिहासिक जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

नगरसभा सदस्यज्यूहरु ,
अब म नीलकण्ठ नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम तपाईहरु समक्ष पेश गर्दैछु । यो नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ को भाग ४ धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको निर्देशक सिद्धान्त, निर्वाचनका बेला हामीले गरेको प्रतिबद्धता, दीगो विकास लक्ष्यका प्राथमिकताहरु, नीलकण्ठ नगरपालिकाको एकिकृत शहरी विकास योजना, भुगोलमा आधारित आवधिक योजना एवं विभिन्न विषयगत रणनीतिक योजनाहरुका लक्ष्य प्राप्ति गर्ने उद्देश्यका साथ प्रस्तुत गरेकोछु ।
चुनावी घोषणापत्रमा समावेश गरिएका अधिकांश विषय पहिलो बर्षकै नीति कार्यक्रममा समेटिएकाले त्यसैलाई नीरन्तरता दिँदै आवधिक योजनाको बार्षिक लक्ष्य हासिल गर्ने गरि आगामी बर्षको नीति कार्यक्रम तय गरेकोछु । एकिकृत शहरी विकास योजनाको आवधिक समिक्षा र मध्यकालिन खर्च सरंचनाको निर्धारित लक्ष्य हासिल गर्ने गरि आगामी आर्थिक बर्ष भित्रमा हासिल गरिने मापन योग्य नतिजालाई ध्यानमा राखेर यो नीति कार्यक्रम निर्माण गरेकोछु । नीलकण्ठ नगरपालिकाको १४ वटैवडामा विकासका पुर्वाधार निर्माण गरि जनमैत्री र छरितो स्थानीय सरकार सञ्चालन गर्न विभिन्न विषयगत प्राथमिकता निर्धारण गरेकोछु । अब म निर्धारित विषयगत प्राथमिकताका आधारमा तयार गरिएका नीति तथा कार्यक्रमलाई तपाईँहरु समक्ष प्रस्तुत गर्दैछु ः

 नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगरका को रुपमाविकसित गर्ने परिकल्पनालाई कार्यान्वयन गर्न दीर्घकालीन सोचका साथ तय गरिएको योजनाबद्धआयोजना र कार्यक्रमहरुलाई नीरन्तरता दिइनेछ । यस अघिका बर्षहरुमा घोषणा गरिएका नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्दै कार्यान्वयन बाँकी भएका सवै नीति तथा कार्यक्रमहरुकोप्रभावकारी कार्यान्व्यनमा जोड दिइनेछ ।
 अघिल्लो कार्यकाल र बर्षहरुमा जारी नीति तथा कार्यक्रमहरुको उपलब्धी र कार्यान्वयन अवस्थाको समिक्षा गरि प्राप्त सुझावहरुका आधारमा थप प्रभावकारी कार्ययोजना निर्माण गरि लागू गरिनेछ ।
 व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै नीलकण्ठ नगरपालिकाका हरेक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने गरि हाम्रो कार्यकाल भित्र कालोपत्रे गरिसक्ने घोषित प्रतिबद्धतालाई निरन्तरता दिइनेछ । नगर यातायात गुरुयोजनाले निर्दिष्ट गरेको सडक मापदण्ड र भवन निर्माण तथा वस्ती विकास मापदण्ड अनुसार सडक विस्तार तथा स्तरबृद्धिमा जोड दिइनेछ ।

 नगरबासीहरुमा ब्यापक स्वरोजगारीको सृजना गर्न एक वडा एक उत्पादनको नीति अनुसार मापनयोग्य कार्यक्रमहरु सञ्चालन गरिनेछ । हरेक वडाको बेग्ला बेग्लै पहिचान स्थापित हुने गरि पकेट क्षेत्र घोषणा गरि एक वडा एक उत्पादन कार्यक्रमलाई अघि बढाइनेछ । पकेट क्षेत्रघोषणाका लागि सवै वडाका कृषि क्षेत्रका माटो परिक्षण गरि उपयुक्त बालीको सिफारिश गरिनेछ । साथै नगरबासीहरुलाई आफ्नै नगरभित्र उत्पादित वस्तु र सेवाको उपभोगका लागि अभिप्रेरित गरिनेछ ।

 मेयर उद्यमशिलता विकास कार्यक्रमलाई सघन रुपमा सञ्चालन गरि उत्पादन, सेवा र रोजगार सृजना गर्ने उद्यम प्रवद्र्धन गरिनेछ । हाल ब्यवसाय सचेतना तालिम लिइ ब्यवसायीक योजनाका आधारमा विना धितो कर्जा लिएका ब्यक्तिगत फर्महरुको दायरा बढाइ सामुहिक रुपमा उद्यम गर्न चाहने नगरबासीहरुलाई सामुहिकतामा प्रति ब्यक्ति रु २ लाखका दरले २० लाख सम्मको ऋण विना धितो प्रवाह गरिनेछ ।

 नीलकण्ठ नगरपालिकालाई तिर्खामुक्त नगरको रुपमा स्थापित गर्ने पूर्व घोषित नीति अनुसार बाँकी रहेका वडा वस्तीहरुमा खोनेपानीको आपूर्ति सहज हुने गरि योजना सञ्चालन गरिनेछ । संघीय खानेपानी आयोजना, नगर लगानी कोष र विभिन्न साझेदाहरु संग समन्व्य गरि जलवायु अनुकुलित बृहत खानेपाली आयोजनाहरुको सम्भाव्यता अध्ययन र शुरुवात गरिनेछ । निर्माणाधीन अवस्थामा रहेका धादिङवेशी बृहत खानेपानी लगायत आयोजना तत्काल पुरा गर्न आवस्यक पहल कदमी र समन्वय गरिनेछ ।

 नगरवासीको आधारभुत र गहन स्वास्थ्य उपचारका लागि नगर केन्द्रमा रहेको जिल्ला अस्पताल संग सहकार्य गरि हरेक वडा केन्द्रमा स्थापित नगर स्वास्थ युनिटहरुमा गुणस्तरीय आधारभूत स्वास्थसेवा प्रवाह र टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ । स्वास्थ क्षेत्रसँग जोडिएका समग्र पक्षलाई समेट्दै एकीकृत स्वास्थ विकास कार्यक्रममार्फत योजनाबद्ध क्रियाकलाप अघि बढाइनेछ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै विपन्न बर्ग स्वास्थ्य उपचार सहायता कार्यक्रमलाई थप ब्यवस्थित बनाइनेछ । नसर्ने रोग विरुद्धको सचेतना अभियान सञ्चालन गर्दै, आयुर्वेदिक स्वास्थ्य, नागरिक आरोग्य र योग साधनाका कार्यक्रमहरुलाई समुदाय स्तर सम्म सञ्चालन गरिनेछ ।
 रक्तदान अभियानलाई मानवीय सेवा अभियानको रुपमा प्रवर्धन गर्दै नगरबासीलाई आवस्यक रगत निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ । रक्तदान अभियानलाई प्रोत्साहित गर्न १० पटक भन्दा बढि रक्तदान गर्ने रत्तदातालाई वडाहरुबाट हुने सिफारिश शुल्कमा १० प्रतिशत छुटको ब्यवस्था गरिनेछ ।

 नगरपालिकाको दीगो पुर्वाधार, सामाजिक उद्धम र सचेतना परियोजना तथा योजना आयोगको समेत काम गर्ने गरि स्थापना भएको नीलकण्ठ नगर विकास प्राधिकरण मार्फत प्राधिकरणको उद्देश्य अनुरुपका आयोजना तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

 नगर शिक्षा योजनाको आवधिक समिक्षा गरि शिक्षा क्षेत्रमा गुणस्तर विकासका लागि रचनात्मक कृयाकलाप सञ्चालन गरिनेछ । हाल नगर क्षेत्रका सवै शिक्षण संस्थाहरुमा शैक्षिक अडिट गरि शैक्षिक अवस्थाको वास्तविक अवस्था पहिचान गरिनेछ । भूगोल, सञ्चालित कक्षा र विद्यार्थी अनुपातलाई विशेष आधार बनाई विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरिनेछ । हरेक वडामा एक नमूना श्रोत विद्यालय स्थापना गरि विद्यालय अनुगमन र शैक्षिक गुणस्तर विकासलाई विकेन्द्रीत अवधारणामा प्रवद्र्धन गरिनेछ ।

 विद्यालयको ब्यवस्थापकीय क्षमतामा सुधार ल्याउन विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु संग कार्य सम्पादन सम्झौता करार सम्झौता गरि सो का आधारमा मुल्यांकन, प्रोत्साहन, पुरस्कार तथा सम्मान गरिनेछ । शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ब्यवस्था मिलाईनेछ ।

 नीलकण्ठ नगरक्षेत्रमा सञ्चालित एक मात्र त्तब्ब् मान्यता प्राप्त क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसलाई साझा सैक्षिक हबका रुपमा विकास गरि लक्षित जनशक्ति उत्पादन योजना तयार गनिरेछ । नगर गौरबका योजनाको रुपमा गत बर्ष स्थापित नीलकण्ठ बहूप्राधिक शिक्षालयको स्तरबृद्धि र विषयविस्तारमा आवस्यक सहयोग गरिनेछ । दलित तथा विपन्न बर्ग छात्रबृत्तिलाई थप प्रभावकारी रुपमा निरन्तरता दिइनेछ ।

 नीलकण्ठ नगरपालिकाको २० बर्षे कृषि रणनीतिक योजना अनुसार कृषि क्षेत्रको विकास र प्रवद्र्धन गरिनेछ । निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी कृषिलाई उत्पादनको विशेष श्रोतको रुपमा विकास गर्न किसान सहयोग कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बालीबीमा कार्यक्रमलाई कृषकहरुका बिच प्रभावकारी बनाउने योजना सञ्चालन गरिनेछ । विपन्न, दलित, आदिवासी सीमान्तकृतलगायत लक्षित वर्गका किसानलाई विशेष सहयोग नीति अवलम्बन गरिनेछ ।

 नगरक्षेत्रका बाँदर पिडित किसानहरुका लागि बैकल्पिक खेती तथा पशु पंक्षी पालनमा विशेष सहयोग गरिनेछ । बाँदर नियन्त्रणका लागि उपलब्ध सवै प्रकारका उपायहरु अवलम्बन गरिनेछ ।

 कृषि तथा पशुपालनमा ब्यवसायिकता प्रवद्र्धन गरि दुःध, अण्डा, मासु र तरकारीमा आत्मनिर्भर नगर घोषणा नीति लिइनेछ । कृषि तथा पशुपालनमा मूल्य श्रृंखलामा आधारित ब्यवसायीक प्रवद्र्धन गरि उत्पादनमा आधारित अनुदान वितरणलाई नियमितता दिइनेछ । साथै विगत बर्ष देखि सञ्चालित मोवाइल भेटेनरी सेवालाई थप प्रभावकारी रुपमा १४ वटै वडामा सञ्चालन गरिनेछ
 नगक्षेत्रमा किसान सूचिकरण कार्यक्रमबाट सूचिकृत भएका किसान लक्षित कार्यक्रम संग निर्माण क्षेत्रका मजदुरहरुको समेत सुचिकरण तथा जीवन सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

 नगरक्षेत्रमा उद्योग व्यवसायको प्रबद्र्धन गर्न उद्यममैत्री नीति अबलम्बन गरिनेछ । नगरक्षेत्र भित्र निर्माणाधिन उद्योगग्रामलाई पूर्णता दिई सम्भाव्य उद्योगहरु सञ्चालनमा सहजिकरण गरिनेछ । ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक वातावरण दिनुका साथै साना तथा घरेलु एवं लघु उद्योगलाई सहयोग र प्रवद्र्धन गरिनेछ ।

 ठूला आयोजनाहरुलाई प्रवद्र्धन गर्न हरेक वडामा कम्तिमा एउटा बहूबर्षीय योजना सञ्चालन गरिनेछ । मद्यकालीन खर्च संरचना र आवधिक योजना संग सामान्जस्यता हुने गरि उपलब्ध श्रोतबाट सञ्चालन गर्न सकिने गरि आयोजना बैँक निर्माण गरिनेछ ।

 नगरको मुख्य केन्द्रको रुपमा रहेको धादिङवेसी बजारलाई सफा, ब्यवस्थित र हरियाली शहरको रुपमा विकास गर्ने नीतिलाई नीरन्तरता दिँदै आगामी बर्ष भित्रमा बजारका सवै भित्री सडकहरु समेत कालोपत्रे र ढलान गरि हिलो धुलो रहित बनाइनेछ ।बजारक्षेत्रको सार्वजनिक जग्गाको खोजी तथा अतिक्रमण न्यूनीकरणका लागि गरिएको नापजाँच अनुसार सार्वजनिक जग्गाको संरक्षण र करिडोर निर्माण कार्यलाई निरन्तरता दिइनेछ । नगरपालिकालाई उज्यालो नगरका रुपमा सडक बत्ती को ब्यवस्था गर्न थप सडक बत्ति ब्यवस्थापन गरिनेछ । साथै टोल विकास संस्थाहरु संगको सहकार्यमा सडक बत्तिको महशुलमा ५० प्रतिशत रकम साझेदारीमा ब्यहोरिनेछ ।

 उत्पादनशील जग्गामा हुने घडेरी प्लटिङ तथा विक्रीलाई निरुत्साहित गर्दै नगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै घडेरी तथा जग्गा विकास व्यवसाय सञ्चालन गर्नु पर्ने नियमलाई अनिवार्य गरिनेछ । कुनै पनि बस्ती टोलमा शाखाबाटो वा नयाँ बाटो खोल्दा नगरपालिकाको पूर्व स्वीकृति लिएर मात्र खोल्नु पर्ने व्यवस्था गरिनेछ । बजार र ग्रामीण क्षेत्रमा नमुना सामूहिक आवास कार्यक्रमलाई प्रोत्साहन गर्न सम्भाव्यता अध्ययन गरि उपयुक्त क्षेत्रहरुमा जग्गा एकिकरण (ीबलम एययष्लिन) गरिनेछ ।

 नगर क्षेत्रमा बन्ने घरको निर्माण पुर्व अनिवार्य नक्सापास गर्ने ब्यवस्था को प्रभावकारी नियमन गरि विद्युतीय नक्सापास प्रणाली अबलम्बन गरिनेछ । नगरक्षेत्रको जग्गा बर्गीकरणलाई बैज्ञानिक बनाउँदै बर्गिकृत जग्गाहरुको ब्यवस्थित सदुपयोग नीति तयार गरिनेछ ।

 नीलकण्ठ नगर कार्यपालिका कार्यालयको आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न बहुबर्षीय ठेक्का लागिसकेकाले समयमै निर्माण सम्पन्न गरि सेवा प्रवाह प्रवाह ब्यवस्थित गरिनेछ ।

 नीलकण्ठ गरपालिकका सवै ब्यवसायी र करदातालाई करको दायरामा ल्याउन आगामी बर्षलाई कर सहभागिता बर्षको रुपमा लिइनेछ । आउने बर्ष भित्र नगरका सवै घर परिवार, नगरबासी र ब्यवसायीलाई पारिवारिक एवं ब्यवसायीक फोल्डरमा आधारित तथ्यांक प्रणाली अनुसार अभिलिखित गरिनेछ । स्थानीय सरकार सञ्चालनको मूल आधार स्थानीय आय भएकाले नगरबासी, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, टोल बिकास संस्था र स्थानीय विद्यालय तथा क्याम्पसहरुसँग सहकार्य गरी कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाइनेछ ।

 नगरको समग्र विकासका लागि सहकारी संस्था र सामाजिक संघ संस्थाहरुसंगको सहकार्यलाई जोड दिइनेछ । स्थानीय संघ, संस्था र क्लवहरुमार्फत सामुदायिक विकासका कार्यक्रमहरुमा सहकार्य गरिनेछ भने अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका कार्यक्रमहरुमा समेत प्रभावकारिता हेरी नगरबजेटबाट साझेदारी गरिनेछ ।

 अन्तराष्ट्रिय गैरसरकारी संस्था, नियोग तथास्वदेशी लगानी कर्ताले नगर क्षेत्रमा विशेष लगानी तथा विकास आयोजना सञ्चालन गर्न चाहेमा हार्दिक स्वागत गर्दै लगानीमैत्री वातावरण सृजना गरिनेछ । साथै नागरिक सेवा र राजश्व अभिवृद्धि हुने आयोजनाहरुमा नगरपालिकाले आवश्यक ऋण लिई लगानी गर्ने नीति लिनेछ । नगर क्षेत्रमा स्थापित एवं मुख्य कार्यालय राखि कृयाशिल सवै गैह्र सरकारी संस्थाहरुलाई सूचिकरण तथा नियमन गर्ने र नगर स्तरीय सामुदायिक संस्था दर्ता कार्यविधि जारी गरिनेछ ।

 नगरक्षेत्रका सहकारीहरुको क्षमता विकास र पूर्वाधारका लागि साझेदारी गर्दै सहकारीहरुले सञ्चालन गर्ने सचेतना र स्वरोजगारमूलक कार्यक्रममा नगरपालिकाले आवश्यक सहकार्य गर्ने नीति लिनेछ ।

 नीलकण्ठ नगरपालिकाको वातावरणमैत्री स्थानीय शासनको प्रारुप अनुसार आगमी बर्ष भित्र नगरपालिकालाई बातावरणमैत्री नगर घोषणा गर्ने गरि वातावरण क्षेत्रमा योजना र कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय वन ऐन जारी गरि हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोडदिइनेछ । नगर क्षेत्रका सामुदायिक, कबुलियती तथा सरकारी वनको संरक्षण, जडिबुटी विकास कार्यक्रम तथा भूसंरक्षण कार्यक्रम आवश्यकता अनुसार सञ्चालन गरिनेछ । डडेलो नियन्त्रण तथा वातावरणमैत्री कार्यक्रमका लागि सामुदायिक वन समूह, कबुलियति वन, जिल्ला वन कार्यालय र विभिन्न संघ संस्था संग आवस्यक सहकार्य गरिनेछ ।

 नगर क्षेत्रका सम्पूर्ण सार्वजनिक तथा सरकारी सेवा प्रदायक निकायहरुलाई लैंङ्गिक भेदभावमुक्त स्थलका रुपमा घोषणा गरिनेछ । संविधानले लक्षित बर्गको रुपमा सम्बोधन गरेका महिला,बालबालिका, जेष्ठ नागरिक,द्वन्द्वपीडित, फरक क्षमता भएका नगरवासी, एकल महिला, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 महिलाहरुको समग्र विकास, रोजगारी, प्रजनन स्वास्थ, समानता र पहूँच स्थापित गर्न नगरपालिकाका निर्वाचित महिला जनप्रतिनीधिहरुको नेतृत्वमा सञ्चालन हुने गरि महिलाका लागि महिला जनप्रतीनिधि परियोजना १४ वटै वडा समितिहरु संग सहकार्य गरि सञ्चालन गरिनेछ ।

 दलित बर्गको उत्थान शसक्तिकरण र विकासका लागि निर्मित दलित शसक्तिकरण रणनीतिक योजनाले निर्दिष्ट गरेका क्षेत्रहरुमा आवश्यक बजेट र योजनाका साथ क्रियाकलाप सञ्चालन गरिनेछ ।

 शहिद, बेपत्ता तथा विभिन्न आन्दोलनका घाइते र परिवारलाई आवस्यक पुनस्र्थापन, शसक्तिकरण र बृत्तिविकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

 युवाहरुको सर्वाङिण विकास र शसक्तिकरणका लागि क्षमता विकास, रोजगारी, प्रशासनीक क्षेत्रमा सहभागिता, एवं सामाजिक सेवामा अभिप्रेरित गर्न युवा संग उपमेयर कार्यक्रम सञ्चालन गरिनेछ । युवम उद्यमशिलतालाई मेयर उद्यमशिलता कार्यक्रम संग जोड्दै नबप्रवर्तनको क्षेत्रमा अभिप्रेरित गरि सृजनात्मक कार्य र आवीस्कारजन्य कार्य गर्ने युवाहरुको प्रतियोगिता तथा पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

 बैदेशिक रोजगारीलाई विप्रेशणको भरपर्दो माध्यमको रुपमा सम्मान गर्दै बैदेशिक रोजगारीमा जानुपूर्वको सचेतना, बैदेशिक रोजगारीबाट प्राप्त कमाईको सदुपयोग र रोजगारीबाट फर्केपछिको ज्ञान सिप लाई सदुपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । साथै बैदेशिक रोजगारीका नाममा हुने ठगी, मानसिक तनाब र पारिवारिक समस्याको समाधान गर्न आवस्यक सहजिकरण, मनोपरामर्श र वित्तिय साक्षरताका कार्यक्रम सञ्चालन गरिनेछ ।

 संघ, प्रदेश सरकार र विभिन्न सरोकारवाला निकाय संग सहकार्य गर्दै समुदाय स्तरमा नै पर्याप्त आय र रोजगारीका अवसरहरु सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । श्रम र रोजगारीको क्षेत्रको समुचित ब्यवस्थापनका लागि सुरक्षित आप्रवासन कार्यविधि जारी गरि प्रभावकारी कार्यान्वयन गरिनेछ । स्वरोजगार, आन्तरिक रोजगार साथै वैदेशिक रोजगार संग सम्बन्धित विषयलाई ब्यवस्थित गर्न नीलकण्ठ नगरपालिकाको संगठन संरचनामा श्रम तथा रोजगार शाखा विस्तार गरी आवस्यक सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गरिनेछ ।

 नीलकण्ठ नगरपालिकालाई खेलमैत्री नगरका रुपमा स्थापीत गर्न सवै खेलको प्रवद्र्धन र खेलाडीहरुको प्रोत्साहन एवं सम्मान कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालय स्तरमा राष्ट्रपति रनिङ शिल्डलाई नगर खेलकुद उत्सवका रुपमा र अन्य विभिन्न खेल प्रतियोगिताहरुलाई माग र आवस्यकताको आधारमा सञ्चालन गरिनेछ । धादिङवेसीको खुल्लामञ्च क्षेत्रलाई नमुना हरित खेल मैदानको अवधारणामा विकास गरी बहूआयामिक खेल तथा सभास्थलको रुपमा विकास गरिनेछ ।

 नगरको सफाई र आकर्षणः फोहोर मैलाको उचित विसर्जन र व्यवस्थापन भन्ने घोषित नीतिलाई स्थापित गर्न नगर सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ । व्यवस्थित डम्पिङ साइट, कुचिकार र सफाई उपकरण तथा फोहोरमैला प्रशोधन प्रविधिमार्फत् नियमित र प्रभावकारी रुपमा नगर सरसफाई कार्यक्रमलाई अघि बढाइनेछ । श्रोतमै फोहोरको बर्गिकरण गरि बैज्ञानिक विधिबाट फोहोर मैला ब्यवस्थापन गर्न आवस्यक ब्यवस्था गरिनेछ ।

 नीलकण्ठ नगरपालिकाको समृद्धिको आधारको रुपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकास गर्न नगर पर्यटन गुरुयोजनाले निर्दिष्ट गरेका गन्तब्यहरुको प्रवद्र्धन गरिनेछ । भैरवी पर्यटन क्षेत्रको प्रवद्र्धन, चमेरे गुफाको सौन्दर्यीकरण,भंगेरीचुली मन्दीर, पशुपति मन्दीर, सल्लाघारी पार्क, सल्लाघारी बगैँचा, रामकोट दरबार, पौवा दरवारको पुननिर्माण तथा नगरक्षेत्रभित्र रहेका होम स्टेहरुको स्तरबृद्धि, साइक्लीङ, हाइकिङ, रक क्लाइम्बीङ जस्ता पर्यटकीय खेलहरुको प्रवद्र्धन गरिनेछ ।

 नगरक्षेत्र भित्रका सवै जातजाति, धर्म सम्प्रदाय, भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ । विभिन्न जात्रा, महोत्सव र पर्वहरुमा जातजाति विशेष सांस्कृतिक प्रबद्र्धनका लागि आवश्यक सहयोग गरिनेछ । नीलकण्ठ नगर प्रज्ञा प्रतिष्ठान मार्फत ललितकला, साहित्य, ज्ञान, विज्ञान, सृजना र संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्न आवश्यक तालिम, प्रतियोगिता, शोध तथा कार्यशाला जस्ता कार्यक्रम गरिनेछ ।

 नीलकण्ठ नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्ने घोषीत नीति अनुसार एकिकृत कार्यविधि जारी भै केहि वडा वालमैत्री वडा घोषणा समेत भैसकेको अवस्थामा सवै वडालाई बालमैत्री वडा घोषणा गर्न निर्धारित सवै सूचकहरु पुरा गर्ने गरि कार्यक्रम सञ्चालन गरि बालमैत्री नगर घोषणा गरिनेछ ।

 नगरपालिकाको प्रशासन र सेवा प्रवाहलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउन सवै विकल्प अपनाइनेछ । विद्यमान आर्थिक मन्दी तथा बार्षिक बजेट सिमा घटेका बेला मितब्ययीता अपनाउन आर्थिक बर्ष २०८०।०८१ मा नगरपालिकाको खर्चबाट जनप्रतीनिधी र कर्मचारीको कुनै पनि अध्ययन अवलोकन भ्रमण कार्यक्रम राखिनेछैन । क्षमता विकास योजनाले निर्दिष्ट गरि आवस्यकता पहिचान भएका विषयमा मात्र तालिम कार्यक्रमहरु राखि सचेतनामूलक भन्दा शिपमूलक कार्यक्रमहरुमा जोड दिइनेछ ।
 भ्रष्टाचार र अनियमिताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी संविधान प्रदत्त सूचनाको हक सम्बन्धी कानूनको पूर्ण सम्मान र पालना गर्दै सार्वजनिक पहूँच र खुल्ला सरकारको अवधारणामा प्रशासन सञ्चालन गर्ने विगत बषकै प्रतिबद्धता अनुसार जबाफदेही प्रशासन सञ्चालन गरिनेछ । अपराध न्युनिकरण, स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने कार्यक्रम, गुनासो ब्यवस्थापन र सेवा प्रवाहमा सरलिकरण गर्ने कार्य गरिनेछ ।
 नगरपालिकाको वडा स्तरका योजनाहरुलाई छरितो अनुगमन तथा योजना फर्छौटमा सरलता कायम गर्न ५ लाख सम्मका योजनाहरुको सम्झौता र अनुगमन सम्बन्धीत वडा समितिबाटै गर्ने नीति लिइनेछ ।
 नगर प्रशासन र नगरबासीहरुमा सूचना, समाचार, कार्यक्रम, लेख रचना सामग्रीमार्फत प्रकाशन प्रसारण गर्न नगरबाट सञ्चालित रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाईन संग आवस्यक सहकार्य गरिनेछ । नगर क्षेत्रका पत्रकारहरुको क्षमता बृद्धिका लागि तालिम तथा वृत्तिविकासका कार्यक्रम सञ्चालन साथै लेखनबृत्ति र नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार वितरणको शुरुवात गरिनेछ ।
 नीलकण्ठ नगरपालिकालाई विपद् ब्यवस्थापनमा नमूना नगरको रुपमा स्थापीत गर्न विपद् प्रतिकार्यमा तत्काल राहत तथा पुनस्र्थापना, विपद् ब्यवस्थापन श्रोत केन्द्र, आपतकालीन कार्यसञ्चालन केन्द्र, विपद् स्वयंसेवक, फायर फाइटर र नगरप्रहरीको क्षमता विकास गरि चुस्त दुरुस्त अवस्थामा राखिनेछ । नगर स्तरीय विपद् ब्यवस्थापन कोष र समिति एवं वडा स्तरीय विपद् ब्यवस्थापन समितिको क्षमता विकास गरि थप जिम्मेवार र क्रियाशिल बनाइनेछ । पुर्वाधारका हरेक योजना बाट ३ प्रतिशत रकम कट्ठा गरि पर्यावरण संरक्षण र विपद् जोखिम न्युनिकरण क्षेत्रमा विपद् ब्यवस्थापन कोष मार्फत खर्च गरिनेछ ।

 कार्यपालिका सदस्यहरुले नेतृत्व गर्ने विषयगत समितिका अलावा युवा, महिला, आदिवासी जनजाति, दलितवर्ग, किसान, शिक्षा, सहकारी, खेलकुद जस्ता विषयलाई समेट्न नगरस्तरीय विषयगत समिति निर्माण गरि समन्वयात्मक क्रियाकलाप अघि बढाइनेछ ।

 बिचारमा विविधता विकासमा एकताको सूत्रलाई आत्मसात गर्दै नगरविकासका लागि विभिन्न राजनीतिक दल तथा नागरिक समाज एवं विषय विज्ञहरले दिएका सुझाब र अघिसारेका राम्रा योजनाहरुलाई अनुसरण गर्दै नगरविकास कार्यक्रममा समावेश गरिनेछ ।

नगर सभाका सदस्य ज्यु हरु,
नगरबासीको चाहना र आवश्यकताको सम्बोधनलाई उच्च प्राथमिकता दिई निर्माण गरिएको आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम अनुरुप नै बजेट बिनियोजन हुनेछ । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्र्फत नीति कार्यक्रम र विकासका लक्ष्य हासिल हुनेमा पूर्ण विश्वस्त हुँदै सबैको साथ सहयोगको अपेक्षा राखेको छु ।

जय नेपाल !

About The Author

अन्य समाचारहरु: