Wed. Nov 27th, 2024

भारतीय चलचित्र प्रदर्शन काठमाण्डौको हलहरुमा नरोक्न उच्च अदालतकोआदेश


काठमाण्डौ – उच्च अदालत पाटनले काठमाण्डौका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो ।

यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिनुभएको छ । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताउनुभएको छ । उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गर्नुभएको छ ।

About The Author

अन्य समाचारहरु: