
काठमाडौँ – मुलुकभर प्रदर्शन भइरहेको फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाका विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुवै पक्षबीच प्रदर्शन अधिकार खरिद–बिक्रीमा सम्झौता भएको फिल्मका निर्देशक फूलमान वलले जनाए ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए । फिल्मले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेका छन् ।