Fri. Nov 29th, 2024

नीलकण्ठका एक सय ४४ दलित विद्यार्थीलाई छात्रवृत्ति

धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का अनिल सुनारको अनुहारमा अहिले खुसी छाएको छ । आर्थिक अभावकै कारण आफ्नो पढाइ निरन्तर गर्न नसकेका सुनार ८० हजार रुपैंया छात्रवृति पाएसँगै खुसी भएका हुन् । 


दलित छात्रवृति वितरण कार्यक्रम अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरपालिकाभित्रका एक सय ४४ जना उच्च शिक्षा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृति दिएको हो । त्यहि कार्यक्रम अन्तर्गत सुनारले ८० हजार पाएका छन् । 


गत वर्ष नाम निस्केर पनि पैसा नभएकै कारण भर्ना हुन नपाएका सुनार अहिले मणिपाल क्याम्पस पोखारामा एमविविएस पढ्दै हुनुहुन्छ । उनी भन्छन्–‘सात वर्षको हुँदा बुबा गुमाएँ । निकै दुःख गरेर आमाले पढाउनु भयो । नगरपालिकाले छात्रवृत्ति स्वरुप दिएको पैसाले मेरा डाक्टर बन्ने सपना पुरा हुनेछ ।’
नीलकण्ठ नगरपालिकाले विद्यार्थीको शैक्षिक क्षेत्र र आवश्यकताको मध्य नजर गरी छात्रवृत्ति प्रदान गरेको हो । सुनिल सुनारसँगै रेशु विकले पनि ८० हजार पाएका छन् भने नीलकण्ठ–९ का सिजा विकले ४० हजार पाएकी छिन् ।  


प्राविधिक तर्फका १० जनाले २५ हजार पाएका छन् । अन्यले विषय हेरेर १२ हजार, ८ हजार र ६ हजार दरले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिले पढाइ निरन्तर गर्न सहज बनेको नीलकण्ठ नगरपालिका–७ का प्रकाश विश्वकर्माले बताए । उनले भने,– ‘आर्थिक अभावकै कारण पढाइ छाड्नु पर्ने बाध्यता छ । नगरपालिकाले छात्रवृत्ति दियो, पढाईमा सहज हुने भयो । यो कार्यक्रम निरन्तर भए हामी जस्ता गरिव र जेहेन्दार विद्यार्थीले आर्थिक अभावकै कारण पढाई छाड्न पर्ने थिएन ।’


छात्रवृत्तिमा पाएको रकम अध्ययनकै लागि प्रयोग गर्न नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । ‘दलित भनेर हिनता बोध गर्ने होइन । अवसर खोजेर अघि बढ्ने हो । समस्या भए नगरपालिकालाई जानकारी गराउनुस् । समाधान र सहकार्यमा नगरपालिकाले सहयोग गर्छ । विदेशिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न व्यवहारिक शिक्षामा नगरपालिकाले जोड दिएको छ’, उनले भने ।


‘२१ सय शुल्क तिर्न नसकेर धादिङकै एक विद्यार्थीले ज्यान गुमाउनु प¥यो । सरकारले निशुल्क शिक्षा भनेपनि व्यवहारमा ल्याउन सकेको छैन । तर शुल्क तिर्न नसकेर पढाइ छाड्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।’ उपप्रमुख दिपक विश्वकर्माले भने,– ‘अब जातिय छुवाछुत र शैक्षिक सुधारका लागि रणनितिक योजना बनाएर नगरपालिका अघि बढ्छ । निःशुल्क शिक्षा हाम्रो जोड हो ।’

About The Author

अन्य समाचारहरु: