Fri. Nov 29th, 2024

धादिङमा २० वर्ष मुनीका आमाको संख्या अझै डरलाग्दो

धादिङ– ‘विवाहवारी २० वर्ष पारी’ भन्ने नारा घन्किरहँदा यो वर्षमात्रै धादिङमा चार सय ५६ जनाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माएका छन् । स्वास्थ्य कार्यालय धादिङको तथ्यांक अनुसार १४ वर्षकी किशोरीले पनि बच्चा जन्माएकी छन् ।

सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरले आयोजना गरेको परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य कार्यालय धादिङले यो तथ्यांक सार्वजनिक गरेको हो । २० वर्ष भन्दा कम उमेरका ४४ जनाले अस्पतालमा पुगेर आधिकारिक रुपमा गर्भपतन गराएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ ।

धादिङ जिल्लामै बसोबास गरेर अन्यत्रको स्वास्थ्य संस्थामा सुत्केरी गराएका र अनाधिकृत ढंगबाट गर्भपतन गराएकाहरुको संख्या खोजी गर्ने हो भने २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउने र गर्भपतन गराउनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए । ‘यो तथ्यांक आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनासम्मको हो’, उनले भने–‘अनाधिकृत रुपमा गर्भपतन गराउने र जिल्ला बाहिरका स्वाथ्य संस्थामा बच्चा जन्माउनेको संख्या खोजी ग¥यो भने दुबैको संख्या बढ्ने देखिन्छ ।’

मातृमृत्युदरको संख्या भने यो वर्ष शुन्य छ । तर, जन्मेको २८ दिनभित्रका ३ जना शिशुले ज्यान गुमाउनु परेको छ । तथ्यांक अनुसार गर्भ चेकजाँच गराउन आउने र आइरन चक्की प्रयोग गर्नेहरुको संख्या भने घटेको छ ।

जिल्लाको स्वास्थ्य अवस्था सुधार्न आगामी दिनमा पनि सचेतनामूलक सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनले बताए । सरकारले नीति तथा कार्यक्रममा नै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ भने सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा पुग्नका लागि नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य राखेको छ ।

About The Author

अन्य समाचारहरु: