Wed. Nov 27th, 2024

आम्दानीको श्रोत नै कुखुरा पालन

चिनो सारु

धादिङ– धादिङ नीलकण्ठ नगरपालिका–१३ मधुवनका मिजार मगरको आम्दानीको श्रोत नै अहिले कुखुरा पालन बनेको छ ।

धेरै पैसा कमाउने आशमा विदेश पुगेर फर्किएका मगरले गाउँमा सुरु गरेको ब्रोइलर कुखुरा पालन नै आर्थिक उपार्जनको श्रोत बनेको छ । विदेशबाट फर्किएपछि सुरु गरेको कुखुरा पालनलाई मगरले अहिले व्यवसायिक बनाउँदै लगेका छन् ।

कुखुरा पालनसँगै उनले गाउँमै मासु पसल पनि सुरु गरेका छन् । आफैले पालेको कुखुरा आफैले काटेर बेच्दा आम्दानीमा थप टेवा पुगेको मगर बताउँछन् । उनी भन्छन्–‘तीन वर्ष विदेश बसे, कमाइ ठिकै थियो, नेपाल फर्किएपछि विदेश जान मन लागेन, हचुवाको भरमा सुरु गरेको कुखुरा पालन नै अहिले मेरो आम्दानीको श्रोत बनेको छ ।’

तालिम र प्राविधिक ज्ञान विना कुखुरा पालनमा हात हालेका मगरले सुरु सुरुका महिनामा नोक्सान पनि व्यहोर्नु प¥यो । तर, अहिले कुखुरा पालन व्यवसायको उनी अनुभवी बनिसकेका छन् । ५० हजार रुपैंयाबाट कुखुरा पालन सुरु गरेका मगरको खोरमा अहिले ५ सय कुखुरा छ । मासु पसल समेत संचालन गरिरहेका उनले आफ्नो खोरमा कुखुरा सकिएको बेला अन्यत्रबाट कुखुरा ल्याएरपनि काट्ने गरेका छन् ।

मगरले बंगुर पनि पालेका छन् । मासु पसलबाट निस्कने टुक्राटाक्री मासु, कुखुराको आन्द्राभुढी बंगुरलाई खुहाउछन् । मगर भन्छन्–‘कुखुरा म¥यो भने फल्नुको सट्टा सफा गरेर बंगुरलाई खुहाउन सकिन्छ र बंगुरबाट पनि आम्दानी लिन सकिन्छ भन्ने मनसायले बंगुर पनि पालिरहेको छु ।’

कुखुरा पालन, मासु पसल र बंगुर पालन उनका लागि ठूला व्यवसायीले गर्ने ‘चेन विजनेश’ जस्तै बनेको छ । यी सबैबाट उनका परिवार पनि खुसी छन् । खेतबारीको काम पनि भ्याएकै छन् ।
कुखुरा पालनसँगैको मासु पसलले गाउँलेलाई पनि सुविधा पुगेको छ । मासु लिनकै लागि बजारसम्म धाउनु पर्ने स्थानीय उपभोक्ता पनि मगरले थालेको व्यवसायबाट सन्तुष्ट छन् ।

About The Author

अन्य समाचारहरु: