Wed. Nov 27th, 2024

धादिङमा नगद १२ लाखसहित १२ तोला सुनको गरगहना चोरी

धादिङ– धादिङको सिद्धलेक गाउँपालिकास्थित किसान कृषि सहकारी संस्था लिमिटेड सलाङका कर्मचारी भीमबहादुर बलकोटिको घरमा चोरी भएको छ ।

ग्रामीण भेगका सहकारीका सदस्यहरुबाट संकलन भएको बचत र ऋण असुलीबाट जम्मा गरेर बैकमा दाखिला गर्न बाँकी रकम आफ्नै घरबाट चोरी भएको बलकोटीले बताएका छन् । बलकोटीका अनुसार सहकारीको अन्तरसमूहहरुबाट जम्मा गरेर घरमा टिनको बाकसमा साँचो लगाएर राखेको नगद १२ लाख र १२ तोला सुनको गरगहना २५ गते राती चोरी भएको हो ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ३ गैरीगाउँमा रहेको घरबाट चोरी भएको भएपनि शुक्रबार दिउँसो मात्रै थाहा पाएको बलकोटीको भनाई छ । ‘सहकारीको कार्यालय मेरो घरभन्दा करि डेढ घण्टा पर छ, फिल्डबाट भएको बचत संकलन र ऋण असुलीको रकम बैंकमा दाखिला गर्न जान भ्याएको थिइन’, बलकोटी भन्छन्–‘बाहिरफेर हिड्दा साँचो हराउछ भनेर पैसा र गहना राखेको बाक्साको साँचो घरैमा साबुनको बट्टामा लुकाएर राख्ने चलन थियो, चोरले त्यहि साँचो भेटेर बाक्सा खोलेर पैसा र गरगहना सबै लगेछ ।’

चोरी भएको घर बलकोटीको पुरानो घर हो । उनीहरु केही महिनादेखि नयाँ घरमा सुत्न थालेका थिए । घर सम्पन्न नभइसकेकोले सरसामान सबै पुरानै घरमा थियो । सदस्यहरुको सहजताको लागि फिल्डबाटै ऋण लगानी गर्ने र बचत फिर्ता गर्ने काम पनि हुने र ट्यावलेटबाट विलिङ गर्ने सिस्टम भएकोले चोरी भएको पैसा यकिन नभएपनि ऋण लगानी गरेको रकम र बचत फिर्ता गरेको रकमसँग ट्यावलेटबाट अनलाईन विलिङ रुजु गरेपछि हराएको रकम निस्कने सहकारीका प्रबन्धक गोपाल सिलवालले बताए ।

चोरी भएको थाहा पाएपछि बलकोटीले प्रहरीमा उजुरी गरेका छन् । प्रहरीले चोरीको घटनाबारे अनुसन्धान थालेको छ । चोरी गर्नेको तीव्र खोजी भइरहेको छ ।

बलकोटी लामो समयदेखि सहकारीमा कार्यरत कर्मचारी हुन् । ढुंगामाटोले बनेको पुरानो घरमा ठूलो रासीको रकम र गरगहना राखेर आफुहरु अर्कै घरमा सुत्नुले लापबार्हिकै कारण चोरी भएको देखिन्छ ।

About The Author

अन्य समाचारहरु: