Fri. Jan 31st, 2025

अनुदान सिधै किसानको हातमा दिने नीति लिएका छौं : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।

शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने-‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो। विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ।’

‘विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएका साथीहरूको पहलमा यो भेला हुँदैछ, यसले संगठनको काम मात्र गर्ने छैन, विदेशबाट फर्किएको जनशक्ति, पुँजी र सीपलाई एकीकृत रूपमा परिचालन गर्ने नीति र योजना पनि बनाउने छ’, उनले भने-‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ। हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युतको उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ । तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ।’

श्रम संस्कृति कमजोर हुँदै गएकोले नेपालीहरु परनिर्भर हुनु परेको बताए । श्रम र मेहेनतबिना संसारको कुनै पनि मुलुक नबन्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सबैको ध्यान जान आवश्यक रहेको बताए ।

About The Author

अन्य समाचारहरु: