धादिङ – आवाज अभियान नेपालले भुकम्पबाट प्रभावित धादिङ र काभ्रे जिल्लाका विभिन्न ९ वटा विद्यालयलाई राहत सामग्री सहयोग गरेको छ ।
क्यापिटल फर गुड र जेनेभाग्लोबलले स्थापना गरेको नेपाल रिकभरी फण्ड अन्तरगत सो कार्यक्रम गरिएको आवाज अभियान नेपालका लेखा तथा प्रशासन अधिकृत इन्दिरा श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रम अन्तरगत काभ्रेको गोरखनाथ निम्न माध्यमिक विद्यालय पनौती – ११ दलिनचोक, बीर प्राथमिक विद्यालय डाँडागाउँ–८, र लाली गुराँस प्राथमिक विद्यालय, कुशादेवी – ९ फापर चौरलाई विद्यालय मर्मत र अस्थायी सिकाई कक्षा निर्माणका लागि प्रति विद्यालय रु ६५ हजारका दरले नगद सहयोग गरिएको हो ।
साथै धादिङको बराहकालिका उच्च मावि, ढोला, –३, ज्ञानज्योति प्राथमिक विद्यालय ढोला –१, सुनखानी मावि चैनपुर –७ ,सिमलगैरी निमावि चैनपुर –९ आदर्श मावि तसर्पु –९ दामेचौर र शिवशंकर प्रावि तसर्पु –७ छापाडाँडाका विद्यालयहरुलाई क्रमशः ६० हजार, ३० हजार, ७० हजार (बराबरको सामान), ४० हजार, ६० हजार र ३० हजारको चेक आवाज अभियान नेपाल धादिङका अध्यक्ष केशव दुवाडीले हस्तान्तरण गरेका थिए ।
उक्त सहयोग रकम विद्यालयमा खानेपानी, अस्थाई सिकाई कोठा र मर्मम सम्भारका लागि प्रयोग गरिनु पर्ने विद्यालय र सँस्थाबीच भएको संझौतामा उल्लेख गरिएको पनि अधिकृत श्रेष्ठले जानकारी दिए । यस अघि आवाज अभियान नेपालले जिल्लाका विभिन्न स्थानमा विपन्न, विरामी र अशक्त महिलाहरुलाई राहत स्वरुप, जस्ता तथा कपडा वितरण गरिरसकेको छ ।