Wed. Nov 27th, 2024

भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले गरे प्रमाणीकरण

काठमाडौँ – तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको जानकारी दिए ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

आम निर्वाचनपछि गठन भएको नयाँ संसद्लाई नागरिकता विधेयकमा निर्णय गर्न नदिएर सरकारले पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउन चाहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले तीन साताअघि राष्ट्रपति पौडेललाई भेटेर पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

About The Author

अन्य समाचारहरु: