रमेश अधिकारी
२०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपले महत्वपूर्ण रह्यो र जननेता मदन भण्डारी कम्यूनिष्ट आन्दोलनको एक नायक नै बन्नु भयो, कारण के हो भने यस महाधिवेशनले नेपाली क्रन्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई स्वीकार गर्यो जसलाई मदन भण्डारीले साहससाथ ब्याख्या गर्नु भयो ।
विश्व कम्युनिष्ट आन्दोलन एक प्रकारले रक्षात्मक अवस्थामा रहेको वेला जनताको बहुदलीय जनवादको प्रतिपादनले नयाँ उर्जा प्रदान गर्यो । नेपाली क्रन्तिको बाटो बदलियो, जनतामा ठूलो आशा जाग्यो । जनताको बहुदलीय जनवादले कम्युनिष्टहरुले प्रजातान्त्रिक प्रकृयामा सामेल भएर श्रेष्ठता हासिल गर्ने, निर्वाचनमा बहुमत हासिल गरी जनवादी क्रान्ति अघि नै सरकार बनाउने, त्यो सरकारले प्रगतिशील सुधार मार्फत समाज रुपान्तरण गर्ने बाटो अङ्खिकार गर्न मार्ग निर्देश गरेको छ । जनवादी क्रान्ति सम्पन्न भएपछि कम्युनिष्ट पार्टी भन्दा बाहेक अरु दल हुदैनन् भन्ने अधिनायकवादी भाष्य परिवर्तन भयो ।
यसैकारण कमरेड मदन र ने क पा एमालेप्रति जडसूत्रवादीहरुले एकसाथ संशोधनवादीको विल्ला भिराउँदै आक्रमण गर्न थाले । सत्य त आखिर सत्य नै हुन्छ, अन्ततोगत्वा जनताको बहुदलीय जनवादकै आलोकमा अहिले नेपालको कम्युनिष्ट आन्दोलन निरन्तर अघि बढी रहेको छ । सिध्दान्तमा आफूलाई जबरजस्त फरक देखाउन खोजे पनि २१ औ शताब्दीको जनवाद भन्नेहरु एवम् जबज मा संशोधन हुनुपर्छ भन्ने पार्टी भित्रैका हठीहरुसंग अब अर्के बाटो छैन, उनीहरु क्रमशः यहीबाटो हिंड्दैछन् ।
जनताको बहुदलीय जनवाद चुनाव देखि चुनावसम्मको कार्यक्रम होइन, यसले माक्र्सवाद र क्रान्तिलाई वैज्ञानिक ढंगले बुझ्न प्रेरीत गर्छ । अर्ध सामन्ति र अर्ध उपनिवेशिक नेपाली समाज फड्को मार्दै पूँजीवादी भै सकेको अवस्थामा जनवादी क्रान्तिको मात्र राग अलापेर हामी सफल हुन सक्दैनौं । अतः माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट मात्र पूँजीवादको अन्त्य गर्न संभव छ । जनताको बहुदलीय जनवादलाई केवल चुनाव र प्रतिस्पर्धा मात्र बुझ्नु गलत हुन्छ ।
कम्युनिष्ट पार्टीहरुलाई अधिनायकवादीको रुपमा तिरस्कृत गरिंदै आएको वेला जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको छ, यसको तात्पर्य के हो भने कम्युनिष्टहरु जनताको रोजाइलाई सर्वोपरी ठान्छन् र उनीहरु जनताकै अभिमतमा राज्य संचालन गर्छन् । जनता र कम्युनिष्ट पार्टी बीच नङ र मासुको जस्तै सम्बन्ध हुन्छ ।
हतियार सधैं निर्णायक हुँदैन, अहिलेको विश्व परिवेशमा बलपूर्वक लादिएको सत्ता दिगो पनि हुदैन । त्यसकारण क्रान्तिपूर्व कम्युनिष्ट पार्टीको सरकार र त्यही जननिर्वाचित सरकार मार्फत सामाजिक रुपान्तरण गर्न जनताको बहुदलीय जनवादले मार्ग निर्देशित गर्छ ।
जनताको बहुदलीय जनवादको अर्को महत्वपूर्ण विशेषता भनेको लोककल्याणकारी राज्य र जनसहभागिता मूलक विकासको अवधारणा हो । गरीब र न्यूनवर्गको आर्थिक सामाजिक विकास जनता कै सहभागितामा राज्यले गर्नुपर्छ । प्रगतिशील कर प्रणाली,कमजोर वर्गको पहुँच विस्तार र नागरिक अधिकारहरुको प्रत्याभूतिबाट यो संभव छ ।
राजनीतिक दलहरु पनि समाजकै एक हिस्सा भएकोले ती दलहरुको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण नगरी राज्य ब्यवस्थाको रुप बदल्न असंभव हुन्छ । जनताको बहुदलीय जनवादले पार्टीहरुको आन्तरिक जीवनलाई पनि लोकतान्त्रिकरण गर्न जोड दिएको छ ।
कतिपय कम्युनिष्ट सत्ताहरु पारिवारिक जस्तै बनेका छन्, नेपाल कै परिवेशलाई हेर्ने हो भने पनि कम्युनिष्ट भनिएका दलहरु दशकौं देखि एउटै ब्यक्तिलाई पुजेर बसिरहेका छन् । त्यस्ता दलहरुले लोकतन्त्रको रटान रट्नु हास्यास्पद छ । कम्युनिष्ट पार्टी संचालनको बिधि लेनीनवादी संगठनात्मक सिध्दान्त हो । यो युगमा नेतृत्वले आफूलाई संगठनको मातहतमा राख्ने, अनुमोदित हुने र नीति निर्माणमा सहभागितामूलक प्रकृया नअपनाउने हो भने सधैं कोही कसैको दास बनेर बसीरहँदैन । त्यस्तो पार्टीको भविष्य पनि छैन ।
यो जनताको बहुदलीय जनवादको मार्ग निर्देशन हो र यही पदचिन्हमा नेपालका दलहरुले आफूलाई लोकतान्त्रिकरण गर्दै लगेका छन् । नेपालले एउटा राजनीतिक कोर्स पूरा गरेको छ तथापी सामाजिक आर्थिक रुपान्तरणको पक्ष विचारणीय छ । समाज पूजिवादमा प्रवेश गरेको छ । यसको मतलव विद्यमान दलाल पूजिवादलाई परास्त गर्न उत्पादक शक्तिको विकास र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण आवश्यक छ ।
यतिवेला हामी समाजवादको कुरा गरीरहेका छौं, तर हाम्रो यो कट्मेरो प्रयासले समाजवाद आइ हाल्दैन । भुल्न नहुने कुरा के छ भने प्रगतिशील उत्पादन संबन्धको विकास नगरी समाजवादको लक्ष्य पूरा गर्न सकिदैन । विद्यमान उत्पादन सम्बन्धबाट श्रमजीवी वर्गलाई मुक्त गर्न, सामाजिक विभेद अन्त्य गर्न, न्यायपूर्ण समाजको निर्माण गर्न एवम् राष्ट्रिय पूजीको विकास गर्न सकेमा मात्र हामी समनजवादको खुड्किलो उक्लन सक्छौं ।
यो सामथ्र्य हासिल गर्न जनताको बहुदलीय जनवादको कार्यदिशा अवलम्बन गर्न अपरिहार्य छ । सभ्य र समतामूलक नेपाली समाजको निर्माण जनताले छनौट गरेको शासन प्रणालीबाट संभव छ, वास्तवमा जनताको बहुदलीय जनवादको सार पनि यही नै हो ।