Wed. Nov 27th, 2024

नक्कली शरणार्थी प्रकरण: खाण निलम्बनको विषयले कांग्रेसमा दुई धार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रदेखि तल्लो तहसम्म विभाजित बनेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई मुद्दाको किनारा नलागेसम्म पार्टीको जिम्मेवारीबाट अलग राख्ने विषयमा कांग्रेसमा दुई धार देखिएको हो । संस्थापन समूह तत्काल निलम्बन नगर्ने पक्षमा छ भने इतर समूहले निलम्बन गर्दा पार्टी हितअनुकूल हुने मत राख्दै आएको छ । हालसम्म यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक भएको छैन । 

प्रवक्ता डा. प्रकाशशरण महतले खाणको विषयमा अनुसन्धान टुंगो नलागेसम्म कुनै निर्णय लिने तयारी नभएको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानबाट नतिजा आइसकेपछि निर्णयमा पुग्ने बताए । उनले कांग्रेस सांसदद्वय आरजु राणा र मञ्जु खाणको विषयमा आधार अनर्गल प्रचार र मिडिया ट्रायल भएको उनको जिकिर थियो । 

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग भने छलफल र राय लिइरहेका छन् । निर्णय लिन कार्यसम्पादन या कार्यसमितिको बैठक भने आह्वान गरिएको छैन । यसकारण तत्काल खाणलाई निलम्बन गर्ने निर्णय हुने अवस्था छैन । कांग्रेसका एक पदाधिकारीका अनुसार खाण पक्राउ परिसकेको अवस्थामा पनि संस्थापन केही नेताहरू भने निलम्बनको विपक्षमा छन् ।

महामन्त्री गगन थापाले मंगलबार नै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको जिम्मा पार्टीले नलिने स्पष्ट पारेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने भन्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । थापाले पटक–पटक यस विषयमा आफूले पार्टी बैठकमा धारणा राखेको, तर सुनुवाइ नभएको वक्तव्यमा उल्लेख गरेका छन् ।

यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक नगरे पनि महामन्त्री थापाले वक्तव्यमा यो नै कांग्रेसको आधिकारिक धारणा भएको जिकिर गरेका छन् ।

कांग्रेसमा यसअघि आरोप लागेका नेताहरूलाई पनि निलम्बन गरिएको विगत छैन । चर्चित बालुवाटर प्रकरणमा आरोप लागेका तत्कालीन उपसभापति विजय गच्छदारलाई पनि कांग्रेसले निलम्बन गरेको थिएन ।

शरणार्थी विषयलाई लिएर कांग्रेसका भ्रातृसंस्थाहरूसमेत विभाजित बनेका छन् । लामो समयसम्म पनि बसेको नेविसंघ भने भर्खरै सडकमा आएको छ । तरुण दलले भने आरोप लागेका नेताहरूको बचाउमा विज्ञप्ति निकालिरहेको छ ।

About The Author

अन्य समाचारहरु: