Mon. Mar 10th, 2025

स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट खर्च नगरौं : गगन थापा

धादिङ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म सबैले तलब बाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्ने बताएका छन् ।

विशेष गरी स्वास्थ्य उपचारको नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए ।

नेपाल वितरक संघको ११औं वार्षिक साधारणसभालाई शनिबार धादिङबेसीमा सम्बोधन गर्दै महामन्त्री थापाले म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्य उपचारको नाममा एक रुपैंयापनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिन भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्ने बताए ।

‘सांसदले तलब पाउँछ । संसद बैठक बसेको बेला सांसदहरुले बैठक भत्ता पाउँछ । त्यो ठूलो पैसा छैन ।’ उनले भने- ‘यो वर्ष अप्यारो परेको वर्ष भएकोले सांसदहरुले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गछौं भनेर लाग्यौ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ ।’

आर्थिक हिसावले देश अप्ठ्यारो परेको वर्ष भएको हुनाले राष्ट्रपतिदेखि सांसद हुँदै वडा अध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनले भनाई छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताए ।

About The Author

अन्य समाचारहरु: